• १३ मंसिर २०८१, बिहिबार

सञ्चारका लागि वडा कार्यालयलाई वाकीटकी

blog

सञ्चार पहुँच बनाउनका लागि १९ वटै वडामा वाकीटकी वितरण कार्यक्रम । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, चैत २९ गते । तुलसीपुर उपमहानगरपालिकाले विपद्का समयमा सञ्चार पहुँच बनाउनका लागि १९ वटै वडामा वाकीटकी वितरण गरेको छ । विपद्को समयमा सञ्चार पहुँच टुटेको अवस्थामा सहजै सञ्चार सुविधा भएमा तत्काल राहत उद्धारका लागि वाकीटकी वितरण गरेको हो । 

प्रत्येक वाकीटकीमा वडाअनुसार कल साइनको व्यवस्था गरिएको छ । तुलसीपुर आपत्कालीन सञ्चालन केन्द्र, दमकल र नगरप्रमुख सचिवालयमा एक–एक वटा वाकीटकी राखिएको छ । 

तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडाका वडाध्यक्ष र सचिवहरूलाई प्रशिक्षण दिएर  वाकीटकी वितरण गरेको हो । विपद् शाखाका प्रमुख टोपबहादुर डाँगीले  २३ वटा वाकीटकी सेट नौ लाख ३१ हजारमा खरिद गरिएको बताउनुभयो । उहाँले बाढी पहिरो, आगलागी, भूकम्पजस्ता विपद्को तत्काल उद्धार र राहतका लागि वाकीटकी वितरण गरिएको बताउनुभयो । 

इलाका प्रहरी कार्यालयका खिम विष्टले इन्टरनेट र नेटवर्कका समस्या भएको अवस्थामा जोखिमबाट तत्काल राहतका लागि वाकीटकीबाट सहजरुपमा सूचना आदान प्रदान गर्न सकिने बताउनुभयो । नगरप्रमुख टीकाराम खड्काले यस क्षेत्रमा बाढी पहिरो र आगलागीको विपद्को सामना गर्दैआएको अवस्थामा वाकीटकीबाट सम्बन्धित निकाय र क्षेत्रमा सूचनाको पहुँच पुग्ने बताउनुभयो । 

उहाँले प्रत्येक वडामा राहत उद्धारका लागि तत्कालै सम्पन्न गर्न प्रभावकारी रहने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले आपत्कालीन सञ्चालन केन्द्र स्थापना गरिएको छ ।