बाँके समाचारदाता
बाँके, चैत २९ गते । नेपालगञ्ज उपमहानगरपालिका –२ स्थित प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनर्निर्माण गर्न लागिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनर्निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरेपछि टेन्डर आह्वान भई काम सुरु भएको छ। जुँगे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि छ। मन्दिर पुनर्निर्माणका लागि तालको पानी सुकाइएको छ। मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको जानकारी दिनुभयो। मन्दिरसम्म पुग्न वर्षौं पहिले बनाइएको प्रवेश मार्ग एकदमै जीर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो। नयाँ संरचना निर्माण भए पनि मन्दिरभित्रका घाटसमेतका क्षेत्र फराकिलो हुने उपमहानगरपालिकाले जनाएको छ।
प्रसिद्ध वागेश्वरी मन्दिर परिसरभित्र रहेको तालको बीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ। जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रिलगायत विभिन्न चाडपर्वको समयमा भक्तजनको अत्यधिक भिड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेकोमा नयाँ संरचना निर्माण भएपछि भक्तजनलाई सहज हुने विश्वास गरिएको छ।