होमराज रानाभाट
नवलपरासी, चैत २९ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुटवल–नारायणगढ सडकखण्डको काममा भइरहेको ढिलाइले जनतालाई परेको समस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ।
बुटवल–नारायणगढ सडक विस्तारको काम २०७८ साउन २२ सम्म सकिसक्नुपर्ने भए पनि एक वर्षको म्याद थपिँदासमेत कामले अझै गति लिन सकेको छैन। सरकारका मन्त्रीहरूले बारम्बार यो सडकको निरीक्षण गर्दै ठेकेदार कम्पनीको ध्यानाकर्षण गराउने सिलसिलामा गृहमन्त्री श्रेष्ठले सडकको कामको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशन दिनुभएको हो।
उहाँले सरकारका तर्फबाट भएका समस्याको गाँठो फुकाउन सरकार तयार रहेको बताउँदै यो राष्ट्रिय गौरवको आयोजना सम्पन्न नहुनु दुःखको कुरा हो भन्नुभयो। अब पनि आलटाल गरेमा परिणाम राम्रो नआउने उहाँको भनाइ थियो।
उपप्रधानमन्त्री श्रेष्ठसँगै पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवल–नारायणगढ सडकखण्ड म्याद थपिएको समयमा पनि सम्पन्न हुन नसक्नु अत्यन्त दुःखद भएको बताउनुभयो। उहाँले अब चाँडो निकास आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “थपिएको समयमा कामले तीव्रता पाउनुपर्ने हो तर त्यो पनि देखिएन । अब यसका बारेमा मन्त्रालय र अन्तर मन्त्रालयस्तरमा गम्भीर छलफल हुने र एउटा निष्कर्ष आउनेछ।” उहाँले बुटवल–नारायणगढ सडकखण्ड सबै नेपालीको चासोको विषय भएको स्पष्ट पार्नुभयो। उहाँले यो राष्ट्रिय गौरवको आयोजनालाई कसरी छिटो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा चाँडै नै ठोस कार्ययोजनासहित मन्त्रालयले काम अगाडि बढाउने बताउनुभयो।
गैँडाकोटदेखि बुटवलसम्मको ११४ किलोमिटर सडकको स्तरोन्नतिका लागि चाइना कन्स्ट्रक्सनलाई दुई खण्डमा करिब १९ अर्बको लगानीमा चार वर्षअघि ठेक्का दिइएको थियो। तीन वर्षमा सक्ने कार्यतालिका रहे पनि गत वर्षको साउन २२ गते एक वर्षका लागि म्याद थपिएको थियो। आउने साउनसम्म थपेको म्याद रहँदा सडकले खासै स्तरोन्नतिको काममा प्रगति भएको छैन। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संयुक्त रूपमा सडकको निरीक्षण गर्नुभएको हो।
सडक निर्माणले गति लिन नसक्दा स्थानीय मात्र नभएर पूर्व–पश्चिम यात्रा गर्ने यात्रुले समेत अति दुःख पाइरहेको भन्दै विरोध हुन थालेपछि अहिले सरकारले विशेष चासो देखाएको छ। सडकको निर्माणमा अझै आलटाल भए कारबाही गर्ने गरी सम्झौता नै खोरज गर्नेसम्मका काम अघि बढ्न सक्ने भन्दै मन्त्रीद्वयले चेतावानीसमेत दिनुभएको छ।
सडक निर्माणको ठेक्का पाएको चाइना कन्स्ट्रक्सनले भने सरकारी पक्षबाट आवश्यक सहयोग नपाएको भन्दै स्थानीय रूपमा कच्चा पदार्थको अभावलगायतका कारण देखाउँदै काममा ढिलो गरेको गुनासो गर्दै आएको छ।