• २७ वैशाख २०८२, शनिबार

बाढीपीडितलाई जग्गा

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, चैत २९ गते । सिन्धुपाल्चोकमा भे्रमाथाङ पहाड सोहोरिएर आएको याङ्ग्री लार्के बाढीपीडितलाई स्थायी आवासका निम्ति जग्गा उपलब्ध गराइने भएको छ। उनीहरूका लागि जग्गा उपलब्ध गराउन खरिद सम्झौता गरिएको छ। 

२०७८ असार १ गते भेम्राथाङ पहाड सोहोरिएर आएपछि पाँचपोखरी थाङपाल गाउँपालिका याङग्री खोलाको बाढीले १७९ घरपरिवार जोखिममा परेका थिए। उक्त परिवारमध्ये उच्च जोखिममा रहेका ११ दलित परिवारलाई स्थायी आवासका लागि जग्गा खरिद सम्झौता भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले जानकारी दिनुभयो। उक्त बाढीबाट प्रभावित भएका मध्ये हालसम्म २२ परिवारलाई घर बनाउन जग्गा खरिद गरिसकिएको उहाँले बताउनुभयो। तीमध्ये १३ परिवारले स्थायी आवास पुनर्निर्माण थालिसकेका छन्। केही समयभित्रै सबै बाढीपीडितलाई स्थायी आवासका लागि जग्गा उपलब्ध गराउने अध्यक्ष लामाले जानकारी दिनुभयो। 

प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले बाढीपीडित परिवारलाई स्थायी आवास निर्माणका लागि पाँच लाख र जग्गा खरिदका लागि थप तीन लाख रुपियाँ उपलब्ध गराउँदै आएको बताउनुभयो। उक्त रकममा गाउँपालिकाले १० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत र बाँकी सङ्घीय सरकारले बेहोर्नेभएको छ।