• २७ वैशाख २०८२, शनिबार

कमलाखुँजमा हात्तीको सधैँ त्रास

blog

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, चैत २९ गते । जङ्गली हात्ती हिँड्ने बाटोमा बस्ती बसाएपछि सिन्धुलीको कमलाखुँज क्षेत्रका बासिन्दा सधँै हात्तीको त्रासमा बस्न बाध्य भएका छन्। 

हात्तीले प्रयोग गर्दै आएको बाटोमा बस्ती विकास र खेती जमिनको प्रयोग हुँदा कमलाखुँज क्षेत्रका बासिन्दा मानवीय क्षतिदेखि भौतिक संरचना र अन्नबालीको नोक्सानीसमेत सहन बाध्य भएका छन्।

डिभिजन वन कार्यालयका अनुसार कमलाखुँज क्षेत्रमा पर्ने दुधौली नगरपालिकाका १४ वडामध्ये वडा नं. १, २, ३, ४, ५, ६, ८, ९, १०, ११ का बासिन्दा सधैँ त्रसित छन्। कमलामाई नगरपालिकाका वडा नं. ९, १३ र १४ का बासिन्दा बर्सेनि जङ्गली हात्तीको त्रासमा बस्न बाध्य छन्। पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु राष्ट्रिय निकुञ्जमा मौसमी स्थानान्तरण हुने (जाने/आउने) क्रममा हात्तीको समूह वर्षको दुई÷तीन पटक त्यस क्षेत्रमा आउँछन्। 

पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु राष्ट्रिय निकुञ्जसम्म फैलिएको चुरे जङ्गलको घाँच (खोँच) जङ्गली हात्तीको समूह हिँड्ने जैविक कोरिडोर हो। कार्यालय प्रमुख कृष्णराज न्यौपानेले त्यस क्रममा दुधौलीमा बर्सेनि समस्या देखा परिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातको मौसम असार, साउन महिनामा पूर्व झापादेखि नै जैविक मार्ग प्रयोग गर्दै हात्तीहरू पश्चिमतिर जान्छन्। पुसदेखि चैतसम्म उनीहरूको ‘म्याटिङ’ सिजन हो, सङ्ख्या वृद्धि गर्ने समय हुन्छ। त्यसपछि फेरि कोशीटप्पुतिरै पुग्छन्।” 

बसाइँ सर्ने क्रममा हात्तीको समूहले आफ्नो ‘रुट’मा परेका घर भत्काउनुका साथै अन्नपात नोक्सान गर्दै आएको हो । यसैबेला मानिस पनि हात्तीको आक्रमणमा पर्छन्। कार्यालय प्रमुख न्यौपानेले थप्नुभयो, “यसरी बसाइँ सर्दा उनीहरूले पुस्तौँदेखि प्रयोग गर्दै आएको आफ्नै बाटो प्रयोग गर्छन्। सोही क्रममा हात्ती दुधौलीमा देखा परिरहन्छन्।” हात्तीलाई हिँड्ने क्रममा जिस्क्यायो भने रिसाएर झन् बढी क्षति पु¥याउँछन्। त्यसको समाधान भनेको नजिस्क्याई उसलाई आफ्नो गन्तव्यमा जान दिनु नै भए समस्याको समाधान हुने उहाँको भनाइ छ। 

त्यसो त कमलाखुँज क्षेत्र सिन्धुली जिल्लाको अन्न भण्डारका रूपमा परिचित छ। कमला नदीको दायाँ र बायाँस्थित चुरे पहाडको बीचमा रहेको फराकिलो समथर फाँट नै कमलाखुँज क्षेत्रको रूपमा परिचित छ। कमलाखुँज क्षेत्र हुँदै निर्माण भएको राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्ग र कमला नदीको फाँटमा उब्जिएको खाद्यान्नले स्थानीय किसानमा जति उत्साह र खुसी छाएको छ। बेलाबेलामा हुने गरेको जङ्गली हात्तीको आतङ्कले उनीहरू त्यत्तिकै निरास भएको देखिन्छ। 

आक्रमणबाट आठ जनाको मृत्यु 

जङ्गली हात्तीकै आक्रमणबाट पछिल्लो १३ वर्षमा आठ जनाले ज्यान गुमाइसकेका छन्। २०६६ सालदेखि २०७९ साल फागुन १३ गतेसम्म ती व्यक्तिले हात्तीको आक्रमणबाट ज्यान गुमाएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ। सबैभन्दा बढी २०६६ सालमा पाँच जनाले ज्यान गुमाएका थिए।  त्यसपछि २०६८ सालमा एक जना, २०७६ सालमा एक जना, २०७७ सालमा एक जना र २०७९ साल फागनु १३ गते एक जनाले ज्यान गुमाए। 

 डेढ सयभन्दा बढीको घर र अन्नबाली क्षति

जङ्गली हात्तीको समूहले दुधौली र कमलामाई नगरपालिकामा पछिल्लो दुई वर्षमा मात्रै १६० जनाको घर र अन्नबालीमा क्षति पु¥याएको छ। गत वर्ष १३० जनाको र यो वर्ष हालसम्म ३० जनाको घर र अन्नबालीमा क्षति पु¥याएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ। 

हात्तीले कमजोर घर भत्काउनुका साथै किसानको ढिकुटी भत्काएर खाद्यान्न खाएर, छरेर र खेतबारीमा लगाएको तरकारी, फलफूल नष्ट गर्दै आएको दुधौली नगरपालिका–११ का हात्तीपीडित  किसान डम्बरबहादुर परियारले गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “हात्तीका कारण राम्रोसँग सुत्न समेत पाइएन। यो वर्ष पुसमा मात्रै मेरो घरको बाँसले लगाएको टाँटी (बेरा) भत्काउनुका साथै पाँच मुरी जति धान खाएर क्षति पु¥याएको छ।”

पीडितलाई राहत 

डिभिजन वन कार्यालयका अनुसार जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका मध्ये अहिलेसम्म सात जनाले मात्रै क्षतिपूर्तिको राहत पाएका छन्। उनीहरूलाई पर्सा राष्ट्रिय वन्यजन्तु आरक्षणले उक्त सहयोग गरेको हो। तत्कालीन निर्देशिकाअनुसार २०६६ सालमा ज्यान गुमाउनेलाई एक लाख ५० हजार रुपियाँका दरले उक्त सहयोग पाएका छन्। 

त्यस्तै २०७६ र २०७७ सालमा ज्यान गुमाउनेको परिवारले १० लाख रुपियाँका दरले सहयोग पाएका छन्। यो वर्ष ज्यान गुमाएका कमलामाई नगरपालिका–१३ निवासी ४० वर्षीय दण्डपाणि पौडेलको परिवारले भने अहिलेसम्म राहत पाउनुभएको छैन। डिभिजन वन कार्यालय प्रमुख कृष्णराज न्यौपानेले  पौडेल परिवारलाई राहतका लागि प्रक्रिया अघि बढाएको भए पनि रकम निकासा भएर आइनसकेकोे जानकारी दिनुभयो। पर्सा राष्ट्रिय वन्यजन्तु आरक्षमा गत वर्ष १३० जनाको र यो वर्ष १५ जनाको फाइल पठाएको भए पनि अहिलेसम्म उपलब्ध हुन सकेको छैन। 

हात्ती धपाउन थाल र आगोको प्रयोग 

जङ्गली हात्ती दिउँसो जङ्गलमा बस्ने र राति बस्तीमा छिरेर आतङ्क मच्चाउन थालेपछि स्थानीयले रातभरि सुत्नसमेत पाउँदैनन्। हात्ती धपाउन स्थानीय समूह बनाई आगो बाली धुनी तापेर जाग्राम बस्ने र थाल ठटाउने गरेका छन्। 

दुधौली नगरपालिका–११ का वडा अध्यक्ष  पवन कार्की भन्नुहुन्छ, “डिभिजन वन कार्यालय, प्रहरी, नगरपालिकालगायतका निकायलाई हात्तीलाई बासस्थानतर्फ धपाउन अनुरोध गर्दै आएका छौँ। तर पनि उपाय लागेको छैन। आफैँ आउँछ, आफैँ जान्छ।”