• ७ वैशाख २०८१, शुक्रबार

प्रकोपका रूपमा फैलिँदै 'लम्पी स्किन'

blog

फाइल तस्विर ।

राजकुमार भट्टराई 

खोटाङ, चैत २८ गते । खोटाङको जन्तेढुङ्गा गाउँपालिका क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोग देखा परेको छ । जन्तेढुङ्गा गाउँपालिकाका ६ वटै वडाका किसानले पालेका पशुचौपायामा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको बताएका छन् ।

भारतबाट २०७७ सालमा मोरङ हुँदै हाल देशका सबैजसो ठाउँमा लम्पी स्किन रोग फैलिएको छ । विशेष गरी यो रोग ठूला पशुचौपाय गाई, गोरु, भैँसी, राँगोमा देखा पर्ने विज्ञहरूको भनाइ छ । गाई भैँसीमा लागेको उक्त रोगको समस्या लिएर करिब सय जना किसान जन्तेढुङ्गा गाउँपालिकाको कार्यालयमा आइसकेको पशु सेवा शाखा प्रमुख डा. सुशन ढकालले बताउनुभयो । 

गत माघ मसान्तदेखि गाउँपालिका क्षेत्र भित्रका पशुचौपायामा लम्पी स्किन रोग देखा पर्न थालेको उहाँको भनाइ छ । हालसम्म लम्पी स्किन रोगको ठोस उपचार र भ्याक्सिन विकास नभएकाले लक्षण अनुसार औषधि उपचारको व्यवस्था मिलाइएको डा. ढकालले बताउनुभयो ।

लम्पी स्किन रोग लाग्दा पशुचौपायामा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाइरहेको हुने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्ने लगायतका लक्षण देखिन्छन् । लामखुट्टे, भुसुना, झिँगा आदिको टोकाइबाट सर्ने यो रोगले पशुचौपाया मर्ने सम्भावना भने कमै मात्रामा हुने डा. ढकाले बताउनुभयो । 

लम्पी स्किन रोगको प्रकोप जन्तेढुङ्गा गाउँपालिकासँगै जिल्लाका अन्य ठाउँमा पनि फैलिएको हुनसक्ने अनुमान गरिएको छ । तर सम्बन्धित पालिकासम्म किसान यस्तो समस्या लिएर आएका छैनन् ।