सुधा देव
भारदह (सप्तरी), असार २७ गते । सप्तरी जिल्लाको मुख्य बाली धानबाली हो । यहाँका अधिकांश किसान धानबालीमै निर्भर छन् । उनीहरू यहीँ बालीबाट वर्षभरिको खर्च टार्दै आए पनि जिल्लाको अधिकांश किसान आकाशे पानीमा भर पर्नुपरेको छ ।
विगतका वर्षहरूमा असारदेखि साउन पहिलो सातासम्ममा जिल्लामा धान रोपाइँ सम्पन्न हुँदै आए पनि यसपालि असारको अन्तिम सातासम्म १६ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । सिँचाइको सुविधा भएको आधा र नभएको सबै खेत अझै बाँझै भएपछि सप्तरीका किसानहरू चिन्तित भएका हुन् ।
राजविराज नगरपालिका १ को ६५ वर्षिया उर्मिला खंगको वर्षभरि परिवारको पेट भर्ने खेत बाँझै भएपछि उहाँलाई यतिबेला चिन्ताले सताएको छ । अर्काको खेत अधियाँमा लिएर धान उत्पादन गरेर जीविकोपार्जन गर्दै आउँनु भए पनि यसपालि के खाने भन्ने चिन्ताले उहाँलाई सताएको हो ।
१५ कठ्ठा खेतबाट उत्पादन भएको धानले परिवारलाई वर्षभरि खान पुग्छ । यसपालि पानी नपरेर सबै खेत बाँझै छ वर्षभरि कसरी हातमुख जोर्ने भन्ने चिन्ता सोही वडा डुमरी शिवथानकी कंचन कुमारी यादवलाई छ।उहाँले भन्नुुभयो, धान रोप्नका लागि तयार भएको बिउ पनि सुक्न लाग्यो ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले सिंचाइ उपलब्ध भएको खेतीयोग्य जग्गामा सिँचाइका लागि तीन चारदिन अगाडि नहर खोले पनि सबै ठाउँमा पानी पुग्ने सम्भावना नरहेको बताउँँनुभयो। उहाँले भन्नुभयो, एक त नहर ढिलो खोल्यो। सुख्खाका कारण पानी बाटोमै हराउँछ । नहर नजिकको खेतमा धान रोपाइँ भए पनि टाढाटाढा समस्या हुने निश्चित छ ।
नहरपछि सिँचाइको अर्को स्राेत जिल्लामा रहेको बोरिङको पानीको लेबल खडेरीको कारण घटेको छ । कतै पानी सुकिसकेको अवस्था पनि छ । पानी परेन भने रिचार्ज हुँदैन । पानीको झन् समस्या हुुने उहाँले बताउनुभयो ।
यसअघि जिल्लामा यस्तो खडेरी भएको थाहा नभएको शुरूमा पानी परेर रोपाइँ हुन्थ्यो । बिचमा खडेरी हुन्थ्यो । फेरि अन्तिम समयमा पानी पर्दा सहज हुन्थ्यो । खडेरीमा नभएर बाढी पहिरोको बेला सरकार वा अन्य निकायले सहयोग गरेको प्रमुख राउतले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, यसअघि पनि खडेरीबाट प्रभाव परे पनि यसपालिको खडेरीले निकै प्रभाव पार्ने सम्भावना बढेको छ ।
जिल्लामा कुल कृषियोग्य जग्गा ८१ हजार हेक्टर क्षेत्रफल छ । जसमध्ये ६८ हजार हेक्टर क्षेत्रफल जग्गामा खेती भइरहेको छ । जसमध्ये २३ हजार ८ सय अर्थात् ३२ देखि ३४ प्रतिशत जग्गामा मात्र सिँचाइ छ ।