• १० मंसिर २०८१, सोमबार

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम् सेवक तालिम

blog

काठमाडौँ,  चैत २८ गते । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम् सेवक तालिम सञ्चालन गरेको छ ।

बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयम् सेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन तनहुँ निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं. २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं. २ मा उपसचिव सूर्यप्रसाद अर्यालले गर्नुभएको थियो ।

निर्वाचन हुने एक साता अघिदेखि सात दिनसम्म ती मतदाता शिक्षा स्वयम् सेवकले मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् । उनीहरूलाई सम्बन्धित पालिकाले दैनिक रु एक हजार भत्ता दिनेछन् । रासस