• १३ असोज २०८१, आइतबार

देशमा भ्रष्टाचार हुन दिनेछैनौँ : राप्रपा सांसद जबरा

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरा ।

काठमाडौं, चैत २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ती सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताउनुभयो ।

उहाँले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराउनुभयो । उहाँले मन्त्रीका छोराहरूले विभिन्न घट्नाहरु घटाइरहेका भन्दै उनीहरूलाई कानुनी कठघरामा लानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौँ । तपाईँहरू सचेत रहनुस् । यो सरकारलाई सचेत गराउन चाहन्छु । सरकारमा बसेका ठूला–ठूला मन्त्रीका छोराहरूले विभिन्न घटनाहरू घटाइरहेका छन् । सरकारले यिनीहरू सबैलाई कठघरामा लानुपर्छ भन्ने मेरो अनुरोध छ ।’’

सांसद जबराले जिल्लाहरूमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न माग गर्नुभयो । मल फ्याक्ट्री स्थापना गर्ने कुरा पटक–पटक उठेको भए पनि अझै हुन नसकेको भन्दै यस बारेमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘वर्षायाम आइसक्यो । धान रोप्ने बेला भइसक्यो । जिल्लामा मलखादहरु पुगिरहेको छैन । यो व्यवस्था तुरुन्त राज्यले गर्नुपर्‍यो । राष्ट्रमा एउटा मलको फ्याक्ट्री लगाउने भन्नेकुरा पटक पटक आइरहेको छ । यो विषयमा नेपाल सरकारले के गरिरहेको छ संसद्लाई जानकारी हुनुपर्‍यो । नत्र योपालि बजेट पास हुन गाह्रो होला ।’’

उहाँले एक दिन देशमा पुनः सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना हुने दाबी गर्नुभयो ।