• १३ असोज २०८१, आइतबार

सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी

blog

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार ।

काठमाडौं, चैत २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ ।

रास्वपा सांसद श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपियाँ मागेको अडियो आइतबार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्नुहुँदै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी माग्नुभएको हो ।

‘‘राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्दछ । राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रलाई मान्दछ । संविधानवादलाई मान्दछ । विधि र विधानलाई मान्दछ । यसो भनिरहँदा हामीलाई लाग्दछ भ्रष्टाचारीको कुनै जाति हुँदैन । कुनै वर्ग हुँदैन । र यो घटनालाई रास्वपाले गम्भीर रूपमा लिएको छ । यसो भनिरहँदा नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । तर ती सबैको सत्य तथ्य छानबिन हुनसक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अझ प्रतिबद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘म सभामुखमार्फत माननीय प्रतिनिधि सभा सदस्यहरूलाई हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाले तपाईँहरूको सम्मानमा परेको चोटप्रति क्षमाप्रार्थि चाहन्छौँ । र यो सम्मानित संसद्को गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा हामी अक्षुण रहनेछौँ ।’’

उहाँले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरूको सम्मानमा चोट परेको भन्दै माफी माग्नुभयो । उहाँले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने बताउनुभयो ।

उहाँले सो प्रकरणले संसद्को गरिमामा समेत मानमर्दन भएको भन्दै माफी माग्नुभयो । प्रमुख सचेतक परियारले राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो घटनाले हामीलाई कतैपनि विचलित गर्ने छैन भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु । भविष्यमा पनि यस्ता घटनाहरूबाट संसदीय दलभित्र रहेका राष्ट्रिय पार्टीहरू यस्ता घटनाबाट पर रहनुपर्छ । लोकतन्त्रलाई अझ सुदृढ र अझ समृद्ध बनाउनुपर्छ । म रास्वपाको तर्फबाट यो घटनाले संसद्को गरिमामा पर्न गएको मानमर्दनलाई क्षमाप्रार्थि गर्दछु ।’’