• ११ असोज २०८१, शुक्रबार

सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउन माग

blog

नेपाली कांग्रेसका सांसद धनराज गुरुङ

काठमाडौं, चैत २७ गते । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधि सभा चुप लागेर बस्नु नहुने बताउनुभयो । उहाँले सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो ।

त्यस्तै, श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टिम’ लाई बुझाउनका लागि पैसा चाहिएको भनेको भन्दै सो ‘कोर टिम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘म निवेदन गर्न चाहन्छु, त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन ? त्यसकारणले गर्दाखेरी यसको छानबिनका लागि आज यो संसदभित्रको एउटा प्रतिनिधि सभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा, भ्रष्टाचारको सन्दर्भमा, कमिसनको सन्दर्भमा यो संसद् चुप लागेर बस्नु हुँदैन । त्यसकारणले आजैको दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु ।’’

त्यस्तै, सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने भन्दै करोडौँ रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति पनि सरकारले छानबिन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसमा ठूलै नेताहरूको पनि नाम जोडिएर सञ्चार माध्यममा आइपुगेको छ । अनि ठूलालाई चैन सानालाई ऐन हुन्छ कि ? होइन भने यस घटनामा जति ठूलै नेताको नाम जोडिए पनि गृहप्रशासन काँप्नु हुँदैन । गृह प्रशासनले दह्रोसँग खुट्टा टेकेर यसमा संलग्न जतिसुकै ठूलो नेता भए पनि कारबाहीको दायरामा ल्याउनैपर्छ । कानुनको कठघरामा उभ्याउनै पर्छ ।’’

सो प्रकरणमा ठूला नेताहरूको नाम जोडिएको उल्लेख गर्नुहुँदै सांसद गुरुङले जति ठूला नेताको नाम जोडिए पनि कानुनी कठघरामा ल्याउनुपर्ने बताउनु भयो ।