• १३ मंसिर २०८१, बिहिबार

शान्तिप्रक्रियाका बाँकी काम यही सरकारले पुरा गर्छ : उपमहासचिव पोखरेल

blog

प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उपमहासचिव गिरिराजमणि पोखरेल । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, चैत २७ गते । 
नेकपा (माओवादी केन्द्र) का स्कुल विभाग प्रमुख एवम् पार्टी उपमहासचिव गिरिराजमणि पोख्रेलले शान्तिप्रक्रियाका बाँकी काम यसै सरकारले पूरा गर्ने बताउनुभएको छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश स्कुल विभागले बाँकेको कोहलपुरमा सुरु गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो कुरा बताउनुभएको हो । साथै उहाँले शान्तिप्रक्रियाका कामहरू पुरा गर्न नदिने षडयन्त्र भइरहेकाले चनाखो रहन पार्टी कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

उहाँले परिवर्तन मन नपराउने र जनताको अधिकारलाई कुण्ठित गर्न चाहनेहरूले अहिले विभिन्न बखेडा खडा गरेर जनयुद्धलाई गलत साबित गर्ने षडयन्त्र गरिरहेको धारणा औँल्याउनुभयो ।

उहाँले कार्यकर्तामा वैचारिक स्तर खस्केको महसुस गरी देशभर कार्यकर्ता र जनताको तहसम्म मार्क्सवादबारे प्रशिक्षित गर्न यो प्रशिक्षण अभियान सुरु गरिएको बताउनुभयो ।

केन्द्र, प्रदेश र पालिकातहसम्मको स्कुल विभागलाई सक्रिय गराएर प्रशिक्षणको कार्य गरिरहेको जनाउनुहुँदै उहाँले यसले पार्टीमा नयाँ रक्त सञ्चार गरेको बताउनुभयो ।

यसैगरी, कार्यक्रममा स्कुल विभागका सचिव एवम् युवा नेता रामदीप आचार्यले माओवादी केन्द्रले कमी कमजोरीको समीक्षा र सच्चिने प्रतिविद्धतासहित स्कुलिङ विभागले विचार र दर्शनमा जागरण अभियान सुरु गरेको बताउनुभयो ।

पहिलो चरणमा पालिकास्तरसम्म प्रशिक्षकहरू तयार पार्ने गरी काम भइरहेको उहाँको भनाइ छ ।

सो प्रशिक्षण कार्यक्रममा माओवादीका नेताहरू गिरिराजमणि पोख्रेल, मार्क्सवादी अध्येयता रमेश कुमार सुनुवार, कमल चुदाली, पुरन केसी, रामदीप आचार्य, माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, लेखनाथ न्यौपाने, प्रभुराम तामाङ लगायतले प्रशिक्षण दिइरहनु भएको छ ।

कार्यक्रममा माओवादी स्थायी समिति सदस्य पूर्णा कुमारी सुवेदी, केन्द्रीय सदस्य अन्जना थारु, कृष्णा केसी नमुना, नरेन्द्र न्यौपाने, प्रदेश सहसचिव अकलबहादुर बम लगायत नेताहरूको सहभागिता रहेको छ ।

तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १०९ पालिका र विभिन्न जवस र मोर्चाका गरी १२५ जनाको सहभागिता रहेको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिनुभयो ।