• १२ मंसिर २०८१, बुधबार

हिरासतमा रहेका प्रतिवादीहरूलाई मनोपरामर्श

blog

जिल्ला प्रहरी कार्यालय नवलपुरमा रहेका प्रतिवादीलाई मनोपरामर्श तालिम । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, चैत २७ गते । नवलपुरको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका प्रतिवादीलाई मनोपरामर्श तालिम दिइएको छ । अधिकांश युवाहरू लागूऔषध कारोबार र प्रयोगको मुद्दामा हिरासतमा रहेकाले उनीहरूलाई लागूऔषधले गर्ने हानी र यसबाट बच्ने उपायबारे नवलपुर अस्पतालबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीले सहजीकरण गरेका थिए । 

विभिन्न घटना तथा दुर्व्यसननीका कारण हिरासतमा रहेका प्रतिवादीलाई आगामी दिनमा लागूऔषधमा नलाग्न र गलत क्रियाकलापमा नलाग्न परामर्श दिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । हिरासतमा रहेका प्रतिवादीहरूले यसबाट बच्ने उपाय र आगामी दिनमा कुलतबाट जोगिन अपनाउन सकिने उपायका विषयमा पनि जिज्ञासा राखेका थिए । पक्राउ परेकामध्ये अधिकांशको मुद्दा लागूऔषधसँग सम्बन्धित रहेको छ । लागूऔषधको मुद्दाका अभियुक्तलाई तीन महिना अनुसन्धान म्याद हुने भएको र सङ्ख्यासमेत बढ्ने गर्दा बेजिल्लामा लैजान र ल्याउन समस्या भएको प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरीमा दर्ता भएका सात सय ४७ अभियुक्तलाई चितवन र पश्चिम नवलपरासी कारागारमा पठाइएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा देखिन्छ । साउनयता पश्चिम नवलपरासी कारागारमा १८ जना, चितवन कारागारमा ३२ जना कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ । 

यस्तै, १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई बालसुधारगृह पोखरा र भैरहवामा पठाउनु पर्ने बाध्यता छ । साउनयता त्यसरी ६ जनालाई ती दुई जिल्लामा पठाइएको छ। 

हरेक जिल्लामा कारागार हुनुपर्ने गृह प्रशासनको नियम भएपनि नवलपुरमा  कारागार छैन । आफ्नै जिल्लामा कारागार नहुँदा प्रहरीको गाडीमा राखेर सुरक्षाकर्मीको निगरानीमा बेजिल्ला पठाउनु पर्दा ओसारपसार खर्चसमेत बढेको जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीको भनाइ छ ।