• १३ असोज २०८१, आइतबार

मिटरब्याज पीडितको समस्या समाधानबारे संसद्लाई जानकारी गराउन माग

blog

नेकपा (एमाले)का सांसद डा. बिमला राई पौडेल ।

काठमाडौं, चैत २७ गते । नेकपा (एमाले) का सांसद डा. विमला राई पौडेलले मिटरब्याज पीडितको समस्या समाधानबारे संसद्लाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

मिटरब्याज पीडितको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ ? भन्ने थाहा नपाएकाले संसद्लाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाइ छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै उहाँले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफूहरूले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाइ भएजस्तो नलागेको पनि बताउनुभयो ।

सांसद पौडेलले भन्नुभयो, ‘‘गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । मिटरब्याज पीडित काठमाडौंमा आउनुभयो । धर्ना बस्नु भयो । सरकारलाई दुःख पनि देखाउनु भयो । सांसदहरूसँग पनि भेट्नु भयो । हामीले संसदमा कुरा पनि उठायौँ । वार्ता समिति बन्यो । अव के भयो ? हामी कहाँ छौँ ? त्यो समस्या समाधान भयो कि भएन ? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एक चोटि भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ ।’’

सांसद पौडेलले मिटरब्याज पीडितको दुःखमा साथ दिने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताउनुभयो ।