• १३ असोज २०८१, आइतबार

प्रहरी जवान विष्टको उपचार खर्च व्यहोर्न सरकारसँग सांसद महराको माग

blog

राष्ट्रियसभाका सांसद महेशकुमार महरा ।

काठमाडौं, चैत २७ गते । राष्ट्रिय सभाका सांसद महेशकुमार महराले मृत्युको दोसाँधमा रहेका प्रहरी जवान हर्कस विष्टको उपचारमा सरकार र स्वयम् नेपाल प्रहरीले बेवास्ता गरेकोमा आपत्ति जनाउनु भएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद महराले राष्ट्रको सुरक्षा गरिरहेका विष्ट हाल काठमाडौंमा अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको उल्लेख गर्नुहुँदै सम्पूर्ण उपचार खर्च व्यहोर्न पनि सरकारसँग माग गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘‘प्रहरी जवान हर्कस विष्ट, उहाँको घर चाहिँ डडेलधुरा हो । उहाँको दरबन्दी चाहिँ प्रदेश प्रमुखको कार्यालयमा थियो । उहाँको उपचार गर्न राज्य किन बेखवर भयो ? अहिले चन्दा उठाएर उपचार गरिरहेको अवस्था छ । कसैले दान गरेको भरमा दुई हजार, तीन हजार यस्तै दाताहरूको भरमा सुरक्षाकर्मीको, राष्ट्र सेवक कर्मचारीको अस्पतालको शय्यामा जीवन जिउन विवश भएका छन् ।’’

खर्चको अभावमा उहाँको उपचारमा कठिनाइ भइरहेको उल्लेख गर्नुहुँदै सांसद महराले उपचारको जिम्मेवारी तत्काल लिन सरकार र नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण समेत गर्नुभयो । टाउकोमा नसाको समस्याबाट पीडित प्रहरी जवान विष्टको हाल उपचार खर्चको अभावमा चन्दा सङ्कलन कार्य भइरहेको छ ।

यस्तो अवस्थामा पनि सरकारले उहाँको उपचारमा चासो नदिएकोमा सांसद महराले सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।

‘‘अब राज्यको उनको उपचारको सम्पूर्ण जिम्मा लिनु पर्दछ । किन भने राज्य अभिभावक हो । अभिभावकको भूमिका खेल्नु पर्छ । आज यो घटना भयो । भोलि अर्को घटना पनि हुन सक्छ । जब ऊ आफैँ सक्दैन भने फेरि राज्यले उपचार गर्नु पर्छ । जिम्मा लिनुपर्छ । यहाँ नेताहरू बिरामी हुँदा करोडौँ राज्यकोषबाट खर्च गरेर उपचार भएको छ ।,’’ सांसद महराले भन्नुभयो, ‘‘तर एक जना सिपाही जो राज्यको सुरक्षाको निमित्त न दिन, न रात, न भोक न प्यास भनेर खटिरहने एउटा सिपाहीले चाहिँ उपचार नपाएको अवस्था छ । के यो देश, राष्ट्र यी नेताहरूको मात्रै हो । सर्वसाधारण नागरिकको होइन ? तल्लो स्तरका कर्मचारीको होइन ? यो राष्ट्र सबैको हो भने म ध्यानाकर्षण गराउन चाहन्छु–ती सुरक्षाकर्मी हर्कष विष्ट आज यही न्यूरो अस्पतालमा छटपटाईरहेका छन् । मृत्युको दोषाधमा छन् । त्यसो भएको हुनाले प्रहरी सङ्गठन पनि गम्भीर होस् । सम्बन्धित मन्त्रालय पनि गम्भीर भएर त्यो प्रहरी जवान हर्कस विष्टको उपचारको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ भन्ने कुरा मैले यहाँ राख्न चाहेँ ।’’

सांसद महराले ठूलो नेताका लागि करोडौँ उपचार खर्च व्यहोर्ने सरकारले प्रहरी जवान विष्टको पनि उपचार खर्च व्यहोर्नुपर्ने बताउनुभयो ।