• ४ जेठ २०८१, शुक्रबार

मधेस प्रदेशको प्रदेश सभा बैठक बस्दै

blog

धनुषा, चैत  २७ गते । मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हो ।

गत फागुन ४ गतेपछि प्रदेश सभा बैठक बस्न सकेको थिएन । राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनका कारण पनि प्रदेश सभा बैठक बस्न सकेको थिएन । प्रदेश सभा  सचिवालयका सचिव रञ्जित यादवका अनुसार पुरानो बक्यौता रकमबारे पनि कार्यसूची रहेको छ । बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउनका  लागि उपसभामुख बबिता राउतको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । उपसभामुख राउतले भने राजीनामा दिइसक्नुभएको छ । त्यसपछि सर्वसहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सांसद रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो । 

सो समितिको राजीनामा र नयाँ संयोजकको चयनको विषयमा समेत प्रदेश सभाको बैठकमा निर्णय हुने बताइएको छ । समितिको म्याद सकिएकाले बैठकबाट त्यसको निर्णय गरिनेछ । सचिव यादवले  सरकारले खेलकुदसम्बन्धी विधेयक प्रदेश सभामा पठाएको जानकारी दिनुभयो  ।

विभिन्न छवटा विधेयक तयारी अवस्थामा रहे पनि विभिन्न मन्त्रालयको ढिलाइका कारण प्रदेशसभामा पेस हुन नसकेको बताइएको छ । मुख्यसचिवको अनुपस्थिति र सरुवाले पनि विधेयकलाई मन्त्रिपरिषदबाट निर्णय गराउन समस्या देखिएको बताइएको छ । रासस