• ११ मंसिर २०८१, मङ्गलबार

होमियोप्याथिक चिकित्साको प्रभाव

blog

विश्वमा धेरै किसिमका चिकित्सा प्रणाली छन् । जसमध्ये होमियोप्याथिक चिकित्सा संसारका धेरै देशमा प्रचलनमा छ । यो चिकित्सा प्रणालीको अनुसन्धानकर्ता जर्मनीका तत्कालीन डा. श्यामुएल हनिम्यान हुनुहुन्छ । होमियोप्याथिक प्राकृतिक सिद्धान्त समं समः समयति (लाइक क्योरस्लाइक) मा आधारित रहेर काम गर्छ ।

यस चिकित्सा विज्ञानको जन्मदाता डा. हनिम्यानले सन् १८०५ मा यस सिद्धान्तको खोज गर्नुभयो र १८९० तिर यसलाई प्रतिपादित गर्नुभएको हो । यो प्रकृतिक सिद्धान्त “समानताले समानताको उपचार” मा आधारित छ । चिकित्सा विज्ञानको रूपमा आज संसारको प्रत्येक मुलुकमा पुगिसकेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को एक सर्वेक्षणअनुसार एलोप्याथीपछिको दोस्रो चिकित्सा पद्धति होमियोप्याथिक हो ।

डा. श्यामुएल हनिम्यानले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्धति संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्मजयन्ती १० अप्रिललाई विश्व होमियोप्याथिक दिवसका साथै विशेष उत्सवका रूपमा विभिन्न देशमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ । इतिहासमा केही चिकित्सा पद्धति सामाजिक स्वीकृति अभावमा अस्तित्व गुमाउँदै लोप भए भने केही उपचार विधि आफ्नो मौलिक गुण र विशिष्टताका आधारमा लोकप्रिय भएका छन् । त्यसमध्ये एक हो–होमियोप्याथी । होमियोप्याथी विश्वमा स्थापित चिकित्सा पद्धतिमा दोस्रो स्थानमा छ । लोकप्रिय एवं जनमानसमा स्वीकार गरी अपनाइएको चिकित्सा पद्धति हो । जुन लगभग दुई सय वर्षभन्दा बढी समयदेखि जनस्वास्थ्यको विषय बनेको छ ।

होमियोप्याथी अर्थात् रोगको सदृश चिकित्सा विज्ञान १८औँ शताब्दीको अन्त्यतिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्सा जगत्को उपलब्धि हो । यसको चिकित्सा दर्शनले विश्वलाई एक नयाँ चिकित्सा दर्शन दिएको छ, जसको कुनै विकल्प छैन । होमियोप्याथीले विश्व स्वास्थ्य मिसनलाई पूरा गर्न महìवपूर्ण भूमिका निर्वाह गरेको छ । जसको परिणाम आज हाम्रोसामु छ । होमियोप्याथी आज विश्वको नब्बेभन्दा बढी मुलुकमा मुख्य रूपले दक्षिण र उत्तरी अमेरिका, भेनेजुएला, अर्जेन्टिना, जर्मनी, युक्रेन, रुस, क्यानाडा, बेलायत, अमेरिका फ्रान्स, जापान आदि मुलुकमा प्रचलित छ । भारत, श्रीलङ्का, पाकिस्तान, ब्रिटेन, नेपाल आदि देशका स्वास्थ्य सेवामा होमियोप्याथीलाई पनि समावेश गरिएको छ ।

होमियोप्याथिक शब्द ग्रीक भाषाको दुई शब्द (होमिओस) सदृश्य र (पैथोज) रोग मिलेर बनेको हो । यसको अर्थ हो सदृश रोग चिकित्सा । जसअनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षण उत्पन्न हुन्छ । उही औषधिले त्यस्तै प्रकारका लक्षणयुक्त भएका रोगीलाई सूक्ष्म रूपमा सेवन गराउनाले आरोग्य प्रदान गर्छ । विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्धति लाभदायक हुन्छ । होमियोप्याथिक उपचार पद्धतिअनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउनेजस्ता रोगको प्रभावकारी उपचार हुन्छ । अझभन्दा होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पुरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।

होमियोप्याथिक अङ्ग्रेजको शासनकालमा भारतमा प्रादुर्भाव भई पछि राणाकालीन समयमा नेपालमा भित्रिएको र राणाकालमै हैजा रोगको महामारी काठमाडौँ उपत्यकामा फैलिएको बेला कलकत्ताबाट होमियोप्याथिक चिकित्सक र औषधि मगाई घरघरमा वितरण गराइएको इतिहास पाइन्छ । राजा त्रिभुवनको भ्रमण पशुपति मन्दिरमा हुँदा त्यहाँ प्रसिद्ध अघोरी बाबा रामनाथज्यूले राजालाई अनुरोध गरेर २०१० सालमा पशुपति होमियोप्याथिक चिकित्सालय खुलाउनुभयो । २०४२ सालतिर यो अस्पताल आफ्नै भवन हरिहरभवन, ललितपुरबाट सेवा दिँदै आइरहेको छ । 

हाल यस चिकित्सालयबाट सरदर २०० देखि २५० जना सेवाग्राहीले सेवा लिँदै आइरहेका छन् । स्थापनाकालदेखि नै यो चिकिसालयले निःशुल्क सेवा दिँदै आइरहेको छ । हाल केही वर्षदेखि तराई र पहाडका ग्रामीण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरेर होमियोप्याथिक चिकित्साको बारेमा जनचेतनाका साथै निःशुल्क सेवा पनि दिँदै आइरहेको छ । 

देश सङ्घीयतामा गइसकेपछि होमियोप्याथिक सेवाको आवश्यकता प्रदेश स्तरमा पनि महसुस हुँदै आइरहेको छ । कोशी प्रदेशमा तीन ठाउँबाट सेवा सञ्चालनमा आएको छ, जहाँ तीन जना चिकित्सक र होमियोप्याथिक सहायकका सेवा प्रदान गर्दै आइरहेका छन् । मधेश प्रदेशमा पनि प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकिसालयबाट आयुर्वेदको साथ साथै होमियोप्याथिक स्वास्थ्य सेवाको व्यवस्था भइसकेको छ । आगामी वर्षमा बागमती प्रदेशमा विभिन्न जिल्लामा होमियोप्याथिक सेवा सञ्चालन आउने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा पनि एक जना चिकित्सकको दरबन्दी पदपूर्ति भएर सेवा विस्तारमा आइसकेको छ । लुम्बिनी प्रदेशमा पनि होमियोप्याथिक चिकित्सकको दरबन्दी रहेको हुनाले निकट भविष्यमा पदपूर्ति हुने सम्भावना छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एलोप्याथिक, आयुर्वेदिक र होमियोप्याथिक विधाबाट सेवा सञ्चालनमा रहेको भए पनि होमियोप्याथिक स्वास्थ्य सेवा सबै प्रदेशमा पुग्न सकेको छैन । यसको पनि समुचित विकास विस्तारको आवश्यकता छ । कतिपय पुराना रोग र पटक पटक बल्झिने रोग जस्तैः टन्सिलाटिस, पाइल्स, अम्लपित्त, एलर्जी, माइग्रेन, मुसा, सिस्ट, पत्थरी आदिमा होमियोप्याथिक चिकित्सा प्रभावकारी रहेको छ । त्यस्तै सर्जरी गर्नुपर्ने गाँठागुठी, सिस्ट पाठेघरको ट्युमर, सिस्ट, ग्याङलियन, प्रोस्टेट बढेको, मिर्गौला तथा पित्तथैलीको पत्थरी आदिको बिरामी ठिक हुने गरेका छन् । मानसिक समस्या भएर आउने जस्तै अनिद्रा, डर र अस्वाभाविक अनुभूतिबाट ग्रसित र पीडित व्यक्तिको उपचार होमियोप्याथिक चिकित्साबाट उपचार हुने गरेको छ । आधारभूत स्वास्थ्य सेवामा पनि होमियोप्याथिक स्वास्थ्य सेवालाई समावेश गरिएको छ । त्यसको लागि दूरदराजका स्वास्थ्य संस्थाबाट होमियोप्याथिक औषधि निःशुल्क लिन सकिने व्यवस्था निकट भविष्यमा हुन गइरहेको छ । 

बागमती प्रदेशको विभिन्न जिल्लामा होमियोप्याथिक चिकित्साबाट सेवा दिने व्यवस्थाको पहल भइरहेको छ । यसका लागि पशुपति होमियोप्याथिक चिकित्सालयमा छलफल तथा गोष्ठी प्रदेशको मन्त्रालयबाट भएको थियो । होमियोप्याथिक चिकित्सा सरल कम खर्चिलो र प्रभावकारी हंँुदाहँुदै पनि यसले विभिन्न चुनौतीको सामना गर्दै आइरहेको छ । विगतमा विराटनगरमा ब्याचलर लेभलको पढाइ हुने नेपाल होमियोप्याथिक मेडिकल कलेजको स्थापना भएर पाँचवटा व्याच निस्किएपछि हाल बन्द भएको अवस्था छ । त्यस्तै एचए लभेलको पढाइ हुने भक्तपुर होमियोप्याथिक मेडिकल कलेज पनि बन्द भइसकेको छ । यसको मुख्य कारण सरकारी स्तरबाट दरबन्दी सिर्जना नहुनु । होमियोप्याथिक अस्पतालको स्थापना हुन नसक्नु पनि हो । भारतमा उच्च अध्ययनका लागि जानुपर्ने बाध्यता छ । भारतीय दूतावासबाट पनि छात्रवृत्ति पाएर चिकित्सक आउने क्रम जारी छ । नेपालमा होमियोप्याथिक औषधि पसल पाँच सयभन्दा बढी सञ्चालनमा छन् । यहाँ औषधि उत्पादन नभएकाले भारतबाट औषधिको आयात भइरहेको छ । औषधि तथा औषधिका लागि प्रयोग हुने सामग्रीका लागि पनि पर निर्भरता नै छ । औषधि व्यवस्था विभागको प्रक्रिया पेचिलो भएको हुनाले औषधि आयात सहज छैन । स्वदेशमै केही औषधि उत्पादन हुन सक्ने भए सहज हुने थियो । पशुपति होमियोप्याथिक चिकित्सालयका लागि सङ्गठन र संरचना (ओ एन्ड एम) तयारी भएर छलफल भइसकेको अवस्था छ । आवश्यक दरबन्दी तथा बजेट प्राप्त भएमा प्याथोलोजी सेवा, फिजियोथेरापीलगायत सेवा पनि सञ्चालन गर्न सकिन्छ ।

लेखक होमियोप्याथिक चिकित्सक हुनुहुन्छ ।