• १४ वैशाख २०८१, शुक्रबार

वैशाखदेखि अनलाइनबाटै बचतपत्र किन्न सकिने

blog

काठमाडौँ, चैत २७ गते । सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र वैशाखदेखि अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । 

नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने भएको हो । अहिले परीक्षणका रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि खुला गरिने कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिनुभयो । “अहिले हामी परीक्षणकै क्रममा छौँ,” उहाँले भन्नुभयो, “राष्ट्र बैङ्कले आगामी वैशाख/जेठमा निकाल्ने दुवै किसिमका बचतपत्र अनलाइनबाटै खरिद गर्न सक्ने गरी तयारी गरिरहेका छौँ ।”

वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्रमा सर्वसाधारणको आकर्षण बढाउन अनलाइनबाटै यस्तो सुविधा दिने तयारी कार्यालयले गरेको हो । आन्तरिक ऋणमा सरकारले उठाउने ऋणपत्रहरूमध्ये यी दुवैको हिस्सा अत्यन्त कम छ । पछिल्लो तथ्याङ्कअनुसार कुल आन्तरिक ऋणमध्ये नागरिक बचतपत्रको हिस्सा ०.९३ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.०२ प्रतिशत रहेको कार्यालयले जनाएको छ । बचतपत्र निष्कासनअनुसार पर्याप्त आवेदन प्राप्त नहुने अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणसम्म सहज रूपमा पु-याउने वेब पोर्टल विकास गरिएको पनि कार्यालयले स्पष्ट पारेको छ । 

वेब पोर्टलमार्फत सर्वसाधारणले अनलाइनबाटै बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै तोकिएका ‘मार्केट मेकर’मा अर्थात् बैङ्कमा खाता रहेको अवस्थामा त्यसैबाट खरिदबापतको भुक्तानी गर्न सक्ने व्यवस्था पनि मिलाइने सूचना अधिकारी गिरीले जानकारी दिनुभयो । आवेदनदेखि भुक्तानीको सम्पूर्ण प्रक्रिया अनलाइनबाटै हुन सक्ने गरी पोर्टल निर्माण भइरहेको उहाँले बताउनुभयो । 

सरकारले नेपाल राष्ट्र बैङ्कबाट आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको सरकारी ऋणपत्र हो । यस बचतपत्रको ब्याजदर प्रत्येक छ महिनामा भुक्तानी हुने गर्छ । राष्ट्र बैङ्कबाट निष्कासन भएको नागरिक बचतपत्र पाँच वर्ष अवधिको रहेको छ । यो बचतपत्र सर्वसाधारण नेपालीले खरिद गर्न सक्छन् । अर्थतन्त्रमा छरिएर रहेको ससानो बचत रकम परिचालन गरेर उचित प्रतिफल दिने गरी वित्तीय साधन जुटाउने यस बचतपत्रको मुख्य उद्देश्य हो ।

त्यस्तै मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट भित्र्याउन तथा त्यसलाई सरकारी बचतपत्रमा लगानी गर्न सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आएको छ । यो बचतपत्रमा अन्य बचतपत्रको तुलनामा केही बढी ब्याजदर प्राप्त हुन्छ । यो बचतपत्रको अवधि पनि पाँच वर्षको हुन्छ । यसमा पनि सरकारले आवधिक रूपमा ब्याज उपलब्ध गराउँदै आएको छ ।