नारद कोहार
तौलिहवा, चैत २६ गते । राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र एवं प्राचीन तिलौराकोट सँगैको कन्थक स्तूपको दक्षिणतर्फ उत्खनन गर्दा भेटिएको गजुर कपिलवस्तु सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएको छ।
कन्थक स्तूप नजिकै रहेको बिहार र पोखरीको उत्खननमा सो गजुर भेटिएको थियो। माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटर रहेको छ।
कपिलवस्तुको उत्खननमा यस खालको वस्तु पहिलो पटक भेटिएको पुरातत्वविद् बताउँछन्। भेटिएको गजुर कुन समयमा बनेको भन्ने कुरा गजुरको परीक्षणपछि मात्र थाहा हुने बताइएको छ।
तिलौराकोट दरबार क्षेत्रको पूर्वीद्वार नजिक कन्थक स्तूप छ। गजुर मन्दिरको माथिल्लो भागमा ठड्याउने गरिन्छ। गजुरको स्वरूप मन्दिरका देवी देवताअनुरूपको हुने गर्छ। हिन्दु मन्दिरको माथिल्लो भागमा कलश र त्यसमाथि दण्डी स्वरूपको गजुर राख्ने चलन छ भने बौद्ध स्तूप एवं बिहारको माथिल्लो भागमा प्रयोग हुने गजुरमा चाहिँ स्तूपको स्वरूप हुने गर्छ।
विगत १२५ वर्षदेखि विभिन्न पुरातत्वविद्ले प्राचीन नगरको अन्वेषण तथा उत्खननको क्रममा प्राप्त गरेका धेरै वस्तु कपिलवस्तु सङ्ग्रहालयमा
सङ्कलन गरी राखिएको छ। सात बिघा क्षेत्रफल रहेको सङ्ग्रहालयमा इसापूर्व छैठौँ शताब्दीको मौर्यकालीन तेस्रो शताब्दीको सुङ्गाकालीन कुषाणकालीन समयका माटा भाडा, चाँदीका सिक्कालगायत विभिन्न महìवपूर्ण सामग्री प्रदर्शनमा राखिएको
सङ्ग्रहालय प्रमुख शान्ति शेर्माले बताउनुभयो।
सङ्ग्रहालयले तिलौराकोट कपिलवस्तुको साथै बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका महìवपूर्ण पुराताìिवक स्थललाई समेत चित्रण गरेको छ।