शिवराज ढुंगाना
अछाम, चैत २५ गते । बसको ठक्करबाट घाइते भएकाको उपचारको क्रममा मृत्यु भएपछि अछामको साँफेबगरमा सडक बन्द गरिएको छ । साँफेबगर नगरपालिका–३ शिद्देश्वरका २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा काठमाडौंमा शुक्रबार निधन भएको हो ।
ठक्कर दिने बस चालकलाई कडा कारबाही गर्नुपर्ने, मृतका श्रीमती र दुई छोरीको लालनपालनको जिम्मा लिनुपर्ने माग राखेर सडक बन्द गरिएको मृतकका काका शैलेन्द्र कुँवरले जानकारी दिनुभयो ।
सडक बन्द भएपछि धनगढी, महेन्द्रनगर, टीकापुर लगायत तराई जाने र बाजुरासम्म आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् । मृतकका आफन्तले साँफेबगरबीच सडक र चोकहरूमा टायर बालेर विरोध गरेका छन् । नेपालगञ्जका डाक्टर र बस मालिकको मिलेमतोमा हेमराजको ज्यान गएको आफन्तको आरोप छ ।
गएको आइतबार सोही नगरपालिकाको रिडिकोट वडा कार्यालय नजिक सुप्रप ०१–००१ ख ३१५४ नम्बरको बसले हेमराजलाई ठक्कर दिएको थियो । ठक्करपछि नेपालगञ्ज शल्यक्रिया भएका हेमराजको होस नखुलेपछि काठमाडौं लिइएको थियो ।