अच्युतमानसिंह प्रधान ‘उत्सुक’
भाइबहिनी हो, तिमीहरू प्रायः सबैलाई दशैँ त थाहा नै होला । बडादशैँ अर्को चैत दशैँ भनेर जान्द छौ । चैतमा पनि दशैँ आउँछ र हामी मनाउँछौ पनि । त्यो दशैँलाई हामी चैते दशैँ भन्छौँ । वर्षमा दुई पटक दशैँआउँछ । अनि हामी प्रत्येक वर्ष दुई पटक नै मनाउँछाैँ पनि । एउटा बडादशैँ र अर्को सानो अर्थात् चैते दशैँ । भाइबहिनीहरू अब चैतै दशैँको सुरुवात कसरी भयो र किन मनाइन्छ भन्नेबारेमा जानकारी राखौँ है त ।
पुराना कथनका अनुसार पहिले पहिले मुख्य दशैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुक्खा भएर खडेरी पर्ने, मौसमी बदलीका साथै दशैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दशैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।
चैते दशैँ शरद ऋतुमा मनाइने बडादशैँमा जस्तो बाहिरी उल्लास र चहलपहल चैते दशैँमा नभए पनि दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेर सँगै खानपिन गर्ने र भगवान् राम जन्मेको तिथि रामनवमी विशेष उल्लासका साथ धार्मिक अनुष्ठानमा संलग्न भई यो पर्व मनाउने गरिन्छ ।
चैते दशैँ चैत शुक्ल अष्टमीमा पर्द्छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैँलाई पर्वको रुपमा हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक मनाउने गर्दछन् ।
असोजमा मनाइने दशैँलाई बडादशैँका रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दशैँलाई चैते दशैँ । यस पटक चैते दशैँ चैत्र महिनाको १५ गते बुधबार परेको छ ।
कतिपय ठाउँमा चैते दशैँलाई ‘सानो दशैँ” भन्ने चलन पनि छ भने भारत, बङ्गलादेश अनि म्यान्मारमा ‘चैते नवरात्रि’ भन्ने चलन पनि छ । वास्तवमा दशैँ भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ, मुख्य दशैँमा झै चैते दशैँमा पनि दुर्गा पूजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देवी स्त्रोतहरू पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाइतुल्याई खाई रमाइलो गरी चैते दशैँ मनाइन्छ । अशोकको फूल खाने गरिन्छ । फूल खाँदा रोगव्याधी नष्ट हुने आम विश्वास छ ।
चैते दशैँकै दिन मर्यादा पुरुष श्री रामचन्द्र आफ्नो १४ वर्षे वनबास सकाएर अयोध्या फिर्नु भएको अवसरमा मनाइएको भन्ने मान्यता पनि छ । यी सम्पूर्ण कुरा उहाँको १४ वर्षे वनबासभित्रै भएको थियो र चैते दशैँका दिन उहाँको सकुशल आगमन भएकोमा अयोध्यावासीलगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दशै मनाएका हुन् भन्ने सामाजिक कथन एवं विश्वास छ ।