• १३ असोज २०८१, आइतबार

लुम्बिनी पिस म्याराथन : दीपक अधिकारी र राजपुरा पछाईलाई उपाधि

blog

लुम्बिनीमा आयोजित पिस म्याराथन। तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, चैत २३ गते। शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा भएको  लुम्बिनी पिस हाफ् म्याराथन प्रतियोगितामा दीपक  अधिकारी र राजपुरा पछाईले  प्रथम  स्थान  हासिल  गर्नुभएको छ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पाेर्टस एकेडेमीले बिहीबार २१ किलोमिटरको दूरीमा प्रतियोगिता गराएको थियो। प्रतियोगितामा  पुरुषतर्फ त्रिभुवन आर्मी  क्लबका  अधिकारीले  एक घण्टा ६ मिनेट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पुरा गर्नुभएको थियो । यो सँगै उहाँले एक लाख ५० हजार रुपियाँ नगद पाउनुभयो।

यस्तै महिलातर्फ २१ किलोमिटरको दूरी नेपाल प्रहरीका पछाईले एक घण्टा २४  मिनेट दुई सेकेन्डमा पूरा गर्नुभएको थियो। उहाँले एक लाख ५१ हजार रुपियाँ नगद शिल्ड तथा प्रमाणपत्र पाउनुभयो। प्रतियोगितामा पुरुषतर्फ एपीएफका  गोपीचन्द्र पारखी एक घण्टा  ६ मिनेट ४६ सेकेन्डमा दूरी पुरा गर्दै द्वितीय हुनुभयो। त्रिभुवन आर्मीका मुकेश पाल एक घण्टा सात मिनेट  १५ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र  रावल  एक घण्टा सात मिनेट  १५ सेकेन्डमा दूरी पार गर्दै चौथो हुनुभयो।

महिलातर्फ एपीएफका बिन्द्रा धान्के श्रेष्ठ एक घण्टा २६ मिनेट सात सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय हुनुभयो। नेपाल प्रहरीका रेखा विष्ट एक घण्टा २६ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी एक घण्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै चौथो हुनुभयो। दुवै विधामा द्वितीयले ७५ हजार, तृतीयले ५० हजार र चौथोले ३० हजार रुपियाँ नगद पुरस्कार पाए।

पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौँ र महिनदेव जोशी छैटौँ हुनुभयो। एपिएफका राजेन्द्र तामाङ सातौँ एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौँ, प्रेमबहादुर बस्नेत नवौँ र टङ्क कामी दसौँ हुनुभयो। 

यस्तै महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपीएफका आशा रावल छैटौँ हुनुभयो। त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौँ एवं खुलाबाट आठौँ सुर्खेतकी बिन्दु हमाल,  त्रिभुवन आर्मीकी निर्मला पुनः नवौँ र शारदा शाही दसौँ हुनुभयो।

प्रतियोगितामा दुवै विधाका पाँचौँले २० हजार, छैटौँले १० हजार, सातौँले ७ हजार, आठौँले पाँच हजार र नवौँ तथा दशौंले पाँच/पाँच हजार नगद पुरस्कार पाए। प्रतियोगितामा देशभरका दुई हजार ५०० खेलाडी म्याराथनमा उत्रेको अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो।

बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर खेलाडीलाई  हस्तान्तरण गरेपछि खेलाडी म्याराथनमा उत्रेका थिए। मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलवार हुँदै दुई फन्का लगाएर २१ किलोमिटरको दूरी पार गरेका थिए।