• १९ वैशाख २०८१, बुधबार

बालाजु ‘बाइसधारा मेला’ (फोटो फिचर)

blog

काठमाडौँ, चैत २३ गते । आज (बिहीबार) बाइसधारा मेला धूमधामले लागेको छ । चैत शुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्ध आई बसेको मानिन्छ ।

यस दिनलाई नेवारहरू ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन् । यस पूर्णिमामा बालाजुको बाइसधारामा भक्तजनहरू स्नान गर्न जान्छन् । यसै दिन ‘मन्नादी’ देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजा अर्चना गर्दा बढी फलिफाप हुने विश्वास रहिआएको छ । त्यस्तै, यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोग व्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।

नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गे धारा स्थापना गराएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठुलो ढुङ्गे धारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ ।


तस्बिरः केशब गुरुङ्ग 

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।