• १२ असार २०८१, बुधबार

मुख्यमन्त्री गिरीद्वारा प्राविधिक विश्वविद्यालयको जग्गा निरीक्षण

blog

मुख्यमन्त्री लिला गिरीसहितको टोली प्राविधिक विश्वविद्यालयका लागि प्रस्तावित जग्गाको स्थलगत अनूगमन गर्नुहुँदै । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, चैत २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गरिने बताउनुभएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद ढकाल, रजिष्ट्रार रेगबहादुर भण्डारीसहित विश्वविद्यालय निर्माणका लागि प्रस्ताव गरिएको स्थान बाँकेको खजुरा गाउँपालिका –८ रनियापुरको स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री गिरीले अनुगमन गर्नुभएको हो । प्रदेश सरकार छिटोभन्दा छिटो विश्वविद्यालय सञ्चालन होस् भन्ने पक्षमा रहेको बताउनुभयो ।

“विश्वविद्यालयका लागि आवश्यक जग्गाको व्यवस्थापन सरकारको तर्फबाट गरिनेछ” मुख्यमन्त्री गिरीले भन्नुभयो, “प्रदेशमा चाहिने जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले विश्वविद्यालयको प्रावधान ल्याएको हो, यसमा सरोकारवाला सबै पक्षबाट प्रदेश सरकारले सहयोगको अपेक्षा गरेको छ ।”

खजुरा गाउँपालिकाले विश्वविद्यालयका लागि आवश्यक एक सय बिघाभन्दा बढी जग्गा उपलब्ध गराउन सिफारिस गरेको छ । जसमध्ये प्रशासनिक भवन निर्माणका लागि ३६ बिघा जग्गा प्रस्ताव गरिएको छ । सो जग्गामा ३० बढी स्थानीयले घर टहरा बनाई बसेकाले उनीहरूको व्यवस्थापन गरी प्रशासनिक भवन बनाउन सकिने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले मुख्यमन्त्री गिरीलाई अवगत गराउनुभयो । 

मुख्यमन्त्री गिरीलाई स्थानीय बासिन्दाले आफूहरूको उचित व्यवस्थापनको माग गरेका थिए । खजुरा गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि ३६ बिघासहित सय बिघाभन्दा बढी जग्गा विश्वविद्यालयका लागि उपलब्ध गराउन सिफारिस गरेको छ । हालसम्म सो जग्गा विश्वविद्यालयले प्रयोग गर्न पाउने गरी निर्णय भइसकेको छैन । 

भवन निर्माण नभए पनि भाडामा लिएर विश्वविद्यालयले कक्षा सञ्चालन गर्न मुख्यमन्त्री गिरीले आग्रह गर्नुभयो । मुख्यमन्त्री गिरीसहितको टोली लुम्बिनी प्राविधिक विश्वविद्यालयको सिनेटमा भाग लिन नेपालगञ्ज पुगेको हो ।