• १२ मंसिर २०८१, बुधबार

गौरीगङ्गा गोल्डकपमा आयोजकको सुखद् सुरुवात

blog

अविनाश चौधरी

धनगढी, चैत २१ गते । कैलालीको गौरीगङ्गा नगरपालिकामा आज बुधबारबाट सुरु भएको गौरीगङ्गा गोल्डकपमा आयोजक गौरीगङ्गा –११ स्पोर्टस् क्लब विजयी भएको छ । गौरीगङ्गाले डोटीलाई ३–१ गोल अन्तरले पराजित गरी अगाडिको यात्रा तय गरेको हो । जितसँगै आयोजक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

गौरीगङ्गाको जितमा ४० औँ मिनेटमा गणेश लुहार, ७६ औँ मिनेटमा दिनेश थापा र ८१ औँ मिनेटमा जनक साउँदले गोल गर्नुभयो । डोटीले पहिलो हाफको ११ औँ मिनेटमा हेरि सिंहको गोलबाट अग्रता लिएको थियो । 

तर, त्यो अग्रता जोगाउन नसक्दा पराजय भोगेको छ । यसअघि, एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले गोल्डकपको उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । 

विजेताले चार लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । शनिबार मात्रै यहाँ सुदूरपश्चिम खप्तड गोल्डकप सकिएको थियो । त्यसको  तीन दिनपछि गौरीगङ्गा गोल्डकप आयोजना भएको हो ।