• १३ मंसिर २०८१, बिहिबार

अर्थमन्त्री–गभर्नर भेट

ब्याजदर घटाउने सम्भावनाको खोजी

blog

काठमाडौँ, चैत २२ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउन सक्ने क्षेत्रहरूको पहिचान र ल्याउनुपर्ने नीतिका सम्भावना खोज्न नेपाल राष्ट्र बैङ्कसँग आग्रह गर्नुभएको छ । गभर्नरसहित नेपाल राष्ट्र बैङ्कका उच्च अधिकृतसँग मङ्गलबार छलफल गर्दै उहाँले ब्याजदर घटाउन सक्ने आधार खोज्न आग्रह गर्नुभएको हो । उच्च ब्याजदरका कारण व्यावसायिक वातावरण निर्माणमा समस्या भएकाले यसलाई घटाउनेतर्फ जानुपर्ने उहाँको भनाइ थियो । 

भेटमा अर्थमन्त्री महतले सरकार अर्थतन्त्र सुधारतर्फ केन्द्रित भएकाले सोहीअनुसार केन्द्रीय बैङ्कसँग समन्वय गर्ने बताउनुभयो । अर्थतन्त्र सुधारका लागि गर्न सकिने प्रयासका विषयमा गभर्नरसँग मिलेर काम गर्ने उहाँको भनाइ थियो ।  त्यस्तै पुँजीबजार, रियलस्टेट, माइक्रोफाइनान्स, सहकारी, मौद्रिक नीति, वित्त नीतिलगायतका विषयमा पनि भेटमा छलफल भएको थियो । 

अर्थमन्त्रीसँगको भेटमा गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर घट्दो क्रममा रहेको जानकारी गराउनुभएको थियो । त्यस्तै उहाँले बाह्य क्षेत्रमा अब खासै समस्या नआउने अवस्था देखिएमा नीतिगत दरहरू पनि घटाउने बताउनुभएको थियो । अहिले देखिएका समस्याको तत्काल समाधान खोज्ने विषयमा पनि भेटमा छलफल भएको थियो ।  

मङ्गलबार नै नेपाल चेम्बर अफ कमर्ससँगको छुट्टै भेटमा अर्थमन्त्री महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताउनुभयो । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय केन्द्रीय बैङ्कसँग पनि समन्वय भइरहेको उहाँले जानकारी गराउनुभयो । आगामी आर्थिक वर्षबाट अर्थतन्त्रले लय समाउने उहाँको भनाइ थियो । 

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले तरलता अभावलाई व्यवस्थित गर्न पुँजीगत खर्च समयमै गर्न कार्यतालिका बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै उहाँले विपे्रषणबापत आउने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नसमेत आग्रह गर्नुभयो । 

त्यस्तै उहाँले ब्याजदरका कारण व्यवसाय गर्न निकै समस्या भएकाले तत्काल घटाउन पहल गर्न आग्रह गर्नुभयो । सोही अवसरमा चेम्बरले अर्थमन्त्रीलाई १७ बुँदे लिखित सुझाव पेस गरेको थियो ।