• १३ वैशाख २०८१, बिहिबार

सरकारको सय दिन

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘मधुमाास’ पूरा गरेको छ । सरकारको पहिलो एक सय कार्यदिनलाई राजनीतिक रूपमा मधुमास अर्थात् हनिमुन पिरियड मानिन्छ । किनभने प्रतिपक्षबाट पनि यस अवधिमा सरकारलाई उसको नीति, विचार र योजनाअनुसार काम गर्न दिइन्छ । सरकारले यही अवधिमा भावी कार्यको सुरुवाती सन्देश दिन्छ । त्यही आधारमा सरकारप्रतिको जनधारणा पनि बन्छ । प्रधानमन्त्री प्रचण्डको हकमा त प्रतिपक्ष नै रहेनन्भन्दा पनि हुने अवस्था छ । यसर्थ सरकारप्रति विरोधका नारा लागेका छैनन्, कोही कसैले आलोचना गरे पनि अरूका कान ठाडा भएका छैनन् । राजनीतिक खेलमा देखिएको यो दृश्य कायम राख्न भने सरकारले आन्तरिक एवं भूराजनीतिक चुनौतीहरूको सामना गर्दै जनविश्वास जित्ने कार्य गर्नुपर्नेछ । 

पुस १० गते प्रचण्ड नेतृत्वमा सरकार बन्दा एउटा समीकरण थियो । त्यो समीकरणमा नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने पनि 

‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ मार्फत नेकपा एमाले हाबी भएको राजनीतिक विश्लेषक औँलाउँछन् । साथै, विगतमा गरिएका प्रतिनिधि सभा विघटनलाई राजनीतिक रूपमा सही थियो भन्ने दावा गर्न थालिएपछि राजनीतिक समीकरणमा बदलाव आउने आधार तयार भयो । राष्ट्रपतिको निर्वाचन सन्दर्भमा परिस्थिति बदलियो र नयाँ समीकरणले आकार लियो । एमाले–माओवादी केन्द्रको समीकरण भत्कियो । चुनावकै बेलाको गठबन्धन अर्थात् प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेस, तेस्रो दल माओवादी केन्द्रसहित अन्य दलको गठबन्धन पुनजीर्वित भयो । यसबीचमा प्रधानमन्त्रीले पुस २६ र चैत ६ गते प्रतिनिधि सभाबाट मत लिनुभयो । 

सय दिन पनि नपुग्दै सिर्जित यस्तो राजनीतिक परिस्थितिमा देशको आवश्यकता र जनताको जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने कार्यमा सरकारले ध्यान केन्द्रित गर्न नै पाएन । तैपनि जनतासँग प्रत्यक्ष र परोक्ष सरोकार राख्ने विषयवस्तुले केही न केही गति लिएकै हो । सरकार राजनीतिक दाउपेचमा मात्र लागेको छैन, काम पनि गरिरहेको छ भन्ने सन्देश दिन सफल भएको छ । यसअवधिमा हासिल गरेका उपलब्धि ३७ वटा बुँदामा समेटेर दस्ताबेज सार्वजनिक गरेको छ । शान्ति, विकास र समृद्धिको जनसपना पूरा गर्ने, विकास निर्माणका कार्यलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई पुनः चलायमान बनाउने, कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउनेलगायतका कार्य दस्ताबेजमा समेटिएका छन् । साथै, सरकारले विकास, समृद्धि र सुशासनमा दृढता प्रकट गर्दै राजनीतिक स्थायित्व र चुस्त सेवा प्रवाहमा जोड दिएको छ । जनताका आशा, अपेक्षा र विश्वासलाई यथाशीघ्र मूर्त रूप दिन सरकार क्रियाशील रहेको दस्ताबेजमा उल्लेख छ । सरकारको पहल र प्रतिबद्धता जनअपेक्षाबमोजिम नै छ । 

सय कार्यदिनकै मेसोमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्का सदस्यलाई शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याएर राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनस्तरमा देखिने गरी सुधार ल्याउन दृढ सङ्कल्पका लागि दिशानिर्देश गर्नुभएको छ । सय दिनको छोटो अवधिमा पनि सेवा प्रवाहमा चुस्तता, आन्तरिक सुरक्षा सुदृढीकरण, आयोजना अनुगमनमा तीव्रता, कूटनीतिक सम्बन्ध सुधारलगायतका कार्य उल्लेखनीय छन् । राजनीतिक व्यस्तताले चाहे जति कार्य गर्न नसकेको स्वीकार गर्दै प्रधानमन्त्रीले विकास, समद्धि र सुशासन निम्ति गर्नुभएको प्रतिबद्धताले महत्त्वपूर्ण अर्थ राख्छ । विकास, समद्धि र सुशासनका बाधक भ्रष्टाचार, अनियमिता हुन् । यस्ता कुकार्य रोकथामका लागि प्रधानमन्त्री दृढतापूर्वक उभिनु आशापूर्ण छ । प्रधानमन्त्रीको प्रतिबद्धता सिङ्गो टिम र सत्ता गठबन्धनका दलले आत्मसात् गरे मात्र अपेक्षित परिणाम निस्कनेछ ।  

अब प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्य तथा त्यसअगाडि नेपाल सरकारका सचिवलाई दिनुभएको निर्देशनबमोजिम कार्य गति बढाउनैपर्छ । सरकारलाई सबै पक्षको साथ सहयोग हुँदा जनजीविकाका विषयले गति लिने हो । नागरिकले छिटो परिवर्तनको अनुभूति खोजेका छन् । अब मन्त्री र सचिवहरूले चाहिँ निर्देशनका पोका बाँड्दै हिँड्ने होइन, काम अपेक्षित छ । चुनावका उम्मेदवार र मन्त्रिपरिषद् तथा प्रशासनिक तहबाट व्यक्त हुने आश्वासन र प्रतिबद्धतामा तात्त्विक भिन्नता रहन्छ । एक सय दिनको मधुमास पूरा गरेर नागरिकमा सुखद सन्देश प्रवाह गरेको सरकारलाई आगामी यात्राका लागि शुभकामना ।