• १० पुस २०८१, बुधबार

मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा

blog

काठमाडौंमा आएर माइतीघर मण्डलामा मिटरब्याजविरुद्ध प्रदर्शन गर्दै मिटरब्याज पीडितको दोस्रो टोली ।

काठमाडौं, चैत २० गते । मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् । देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर सोमबार माइतीघर मण्डलामा मिटरब्याजविरुद्ध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरूले सिंहदरबार अगाडि कार्यक्रम गरेका छन् । यसअघि शनिबार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेलगायत पाँच बुँदे सहमति भएको थियो ।

सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरूको एउटा समितिसँग सरकारले पाँच बुँदे सहमति गरेको छ । तर सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको दुई दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन सुरु गरेका छन् ।

आज काठमाडौंमा आएका मिटरब्याज पीडितले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर पीडितहरूले किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर, मिटरब्याजीलाई कारबाही गर, झुटा आश्वासन बन्द गर, उत्पीडित किसान एक हौँ नारा समेत लगाएका छन् ।