• १३ मंसिर २०८१, बिहिबार

चितवनका माहुरी महोत्तरीमा

blog

रवीन्द्र उप्रेती

बर्दिबास, चैत २० गते । चितवन खैरिनीका मह किसान समूह अहिले महोत्तरी झरेका छन् । ३० जनाको सङ्ख्यामा रहेका यी किसान परिवार मेलिफेरा जातिको दुई हजार माहुरीका घारसहित मधेश झर्नु भएको हो ।

 यो सिजनमा बर्दिबासका जङ्गली क्षेत्रबाट दुई करोड मूल्यबराबरको मह सङ्कलन गर्ने उहाँहरूको लक्ष्य छ । अकुत सम्पदाको भण्डार मानिएको महोत्तरीको जङ्गलबाट उत्पादित महको प्रारम्भिक अर्थशास्त्रले यहाँको वन सम्पदा कति महìवपूर्ण रहेछ भन्ने अर्को उदाहरण थपेको छ । 

 मह किसान आएपछि जिल्लाको उत्तरवर्ती बर्दिबास तथा गौशाला नगरपालिकाअन्तर्गतका आँप बगैँचा र सागरनाथ वन विकास परियोजनाको भिक्स (युक्लिप्टस)का जङ्गल माहुरीको घारले भरिएको छ । बर्दिबासको बुद्धचोक, हात्तीलेट, गौशालाको रामनगर, स्टिल टावर, तारेचौरी, लक्ष्मीनियाका जङ्गली क्षेत्र र बारीबगैँचामा मह सङ्कलनका लागि राखिएका आगन्तुक माहुरीका सेता बाकसले भरिभराउ छन् । फागुन पहिलो साता बर्दिबास आउनुभएका उहाँहरूको मौसमी अनुकूलता हेरी यहाँका जङ्गलबाट वैशाख महिनासम्म मह सङ्कलन गरी फर्किने योजना छ । 

यस अवधिमा ३६ देखि ४० हजार किलोसम्म मह उत्पादन गर्ने उहाँहरूको लक्ष्य छ । वैशाखसम्म तीन पटक मह निकाल्दा ३५ देखि ४० हजार किलो उत्पादन हुने मह कृषक सुरेश बस्नेतले बताउनुभयो । 

“अहिले होलसेलमा प्रतिकिलो पाँच सय र खुदुरामा सात सय रुपियाँ महको भाउ छ, यो हिसाबले यहाँ उत्पादित महबाट दुई करोड मूल्यबराबरको आम्दानी हुन सक्छ,” बस्नेतले हिसाब जोड्नु भयो । “समूहका ३० भाइमा बाँडफाँट गर्दा खर्च काटेर जनही अढाईदेखि तीन लाख बचत हुने आसमा यहाँ आएका हौँ ।” बस्नेतले पनि ‘मेलिफेरा’ जातिको १३० घार माहुरी लिएर आउनु भएको छ । 

यहाँको जङ्गलबाट सङ्कलन भएको मह गुणात्मक र मात्रात्मक दृष्टिले स्तरीय हुने भएकाले चितवनदेखि आउने गरेको उहाँहरूले बताउनुभयो । 

गौशाला रामनगरको जङ्गलमा १७० घार माहुरीबाट बिहीबार मह निकाल्दै गर्नुभएका अर्का कृषक कृष्णबहादुर बस्नेतका अनुसार (युक्लिप्टस)को फूलबाट सङ्कलित मह स्तरीय हुन्छ । तोरी र चिउरीको जस्तो मह जम्दैन । व्यापारिक दृष्टिले नजम्ने महलाई स्तरीय मानिने उहाँले बताउनुभयो । 

“नजम्ने मह बेच्न हतारो गर्नु पर्दैन, मूल्य बढेपछि बेच्न सकिने हुँदा यहाँ उत्पादित महले अवसर पनि दिएको छ,” उहाँले बताउनुभयो, “त्यसैले महोत्तरीको जङ्गली क्षेत्रमा मह किसानको सङ्ख्या बढ्दै गएको हो ।”

अहिले पतञ्जली र डावरजस्ता भारतीय कम्पनीले नेपाली मह खरिद गर्न छाडेदेखि ग्राहक सङ्ख्या घटेका छन् तर भिक्सको जङ्गलमा सङ्कलित मह लामो समय स्टोर गरेर राख्न सकिने हुँदा सस्तोमस्तो बेचिहाल्नुपर्ने बाध्यता पनि नभएको बस्नेतले बताउनुभयो । 

भिक्सको मह अर्गानिक र औषधीय गुण हुने भएकाले पनि यसको माग र आकर्षण बढ्दै गएको उहाँहरूको अनुभव छ ।  

महोत्तरीको जङ्गलमा चैत लागेपछि भिक्स (युक्लिप्टस), रुदिलो, जामुनो, क्यामुनो, साखु, गुम्बा, सिसौजस्ता अनेक जङ्गली वनस्पतिमा फूल फुल्ने हुँदा मह उत्पादनका लागि उर्वर मानिन्छ । अर्कोतर्फ वसन्त ऋतुसँगै यहाँका आँप र लिचीका बोट पनि फुल्ने भएकाले मह कृषकको आकर्षण बढेको हो ।

स्थानीयका अनुसार महोत्तरीमा सबैभन्दा पहिले ०६४ सालमा गौशाला नगरपालिकाअन्तर्गतको तारेचौरीमा चितवनबाट माहुरीको घार पुगेको थियो । त्यहाका गाउलेले सहयोग गरे । मौसमले पनि साथ दियो । पहिलो पटकमै सोचेभन्दा बढी मह उत्पादन भएपछि सोही बेलादेखि महोत्तरीको जङ्गललाई मह उत्पादनको नयाँ गन्तव्यका रूपमा पहिचान गरिएको हो । 

तारेचौरीका स्थानीयको बुझाइमा चितवनका यी मौरीपालकले यहाँ आएर मह मात्र सङ्कलन गरेका छैनन् महोत्तरीवासीलाई घरछेउमै रोजगारीको प्रचुर अवसर र सम्भावनाको सन्देश पनि दिएका छन् । 

आम बुझाइमा जङ्गल भनेको काठदाउरा, घाँसपात र चरिचरनको थलो मात्र हो । तारेचौरीका युवा चित्रबहादुर जर्घाको भनाइमा चितवनका मौरीपालकले महोत्तरीको वनजङ्गल महको प्रचुर भण्डारसमेत रहेको ज्ञान र प्रेरणा दिएका छन् । उहाँहरूको सीप र जाँगरको सिको गरे वनजङ्गलको रक्षा र मह उत्पादनको पकेट क्षेत्रका रूपमा विकसित गर्न सकिने उहाँको धारणा छ । 

“चितवन किसानबाट प्रेरणा लिएर विविध प्रजातिका रुखबिरुवाको संरक्षण गरी मह उत्पादनको क्षेत्र बनाउने कि वनलाई काठ दाउराको नाममा विनाश गर्दै जाने, सोच्नुपर्ने बेला आएको छ,” जर्घाले भन्नुभयो ।