• १५ चैत २०८०, बिहिबार

सर्लाहीका शिक्षा प्रमुखविरुद्ध नक्कली शिक्षक नियुक्त गरेको आरोप

blog

काठमाडौं, चैत १९ गते। सर्लाहीको लालबन्दी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका शिक्षा प्रमुख वासुदेव तिमल्सिनामाथि नक्कली नियुक्तिपत्र दिएर सो बमोजिमको पदीय दुरुपयोग गरेको आरोप लागेको छ। 

अखितयार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा साबिक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उप–जिल्ला शिक्षा अधिकारीसमेत रहेका तिमल्सिनाले साबिक डिम जनता उच्च माध्यामिक विद्यालयमा उच्च माध्यामिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएको पाँचु रायलाई अधिकार प्राप्त अधिकारीको निर्णय बिना नै नक्कली नियुक्त र सरुवा गरेको उल्लेख छ।

निज तिमल्सिनाले पाँचु रायलाई केश्वर गरिब जनता माध्यामिक विद्यालयको उच्च माध्यामिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साबिकका जिल्ला शिक्षा कार्यालय, सर्लाहीको समर्थन र आदेशमा नक्कली लिखत बनाएको आरोप लागेको छ। 

यसैगरी, तत्कालीन प्राचार्य हाल रामअवतार जनता माध्यामिक विद्यालय, हरिवनका प्रधानाध्यापक नारायण प्रसाद वाग्लेले निज रायलाई अर्थशास्त्र विषयको शिक्षक पदमा करार नियुक्त गरेको भनी नक्कली लिखत बनाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरेको आरोप लागेको छ। 

निज रायलाई पनि नियुक्ती र सरुवा पदस्थापनाको नक्कली लिखत तयार गर्न मिलेमतो गरेको आरोपपत्र आइतबार विशेष अदालत, काठमाडौंमा दायर भएको आयोगले जनाएको छ।