• ७ वैशाख २०८१, शुक्रबार

अपाङ्गमैत्री बजेट बनाउन माग

blog

लाईफ नेपालको कार्यक्रममा सहभागीहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, चैत १९ गते । स्थानीय पालिकाहरूले भौतिक संरचनाको निर्माणदेखि नीति कार्यक्रम र बजेट निर्माण गर्दा अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित तीन पालिकामा सञ्चालनमा रहेको समावेशी जलवायु उत्थानशील सामुदायिक विकास परियोजना अन्तर्गत लाइफ नेपालले आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।

अधिकांश वक्ताहरूले पालिकामा हाल निर्माण भएको भौतिक संरचना अपाङ्गमैत्री नभएका कारण कामकाजका लागि जाने अपाङ्गता भएकालाई समस्या हुनेगरेको बताउनुभयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले विगतमा जेजस्तो भए पनि अव निर्माण हुने भौतिक संरचना अपाङ्गमैत्री हुने बताउनुभयो । 

जनकपुरधामको विभिन्न निजी तथा सामुदायिक विद्यालयमा अपाङ्गता भएकाहरूको उल्लेख्य उपस्थिति भए पनि विद्यालयको संरचना अपाङ्गमैत्री नभएको कारण अपाङ्गता भएका विद्यार्थीलाई समस्या हुनेगरेको र त्यसमा विद्यालयलाई जानकारी गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनकपुरधाम उपमहानगरपालिकाले तयार गर्ने नीति कार्यक्रम तथा बजेटमा अपाङ्गता भएकाका लागि बजेट समावेश गरिने बताउनुभयो । 

सो परियोजनाका व्यवस्थापक जीवन पुडासैनीले समुदायमा रहेका अपाङ्गता भएकाहरूलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो । लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले अपाङ्गको सबलीकरणका लागि विभिन्न खालका सङ्घ संस्थाहरूले काम गर्न इच्छुक रहेको भन्दै वातावरण निर्माणका लागि जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । 

धनुषाको औरही गाउँपालिका, मिथिला विहारी नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकामा सन २०२२ जुलाईदेखि सन् २०२५ जुनसम्म सञ्चालनमा रहेको उक्त परियोजनाले अपाङ्गता भएका व्यक्तिको संलग्नतामा २४ वटा स्वावलम्बन समूह गठन गरेको छ । सो २४ समूहमा ३६३ जना अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको छ । 

२४ वटा समावेशी विकास अभियन्ता छनौट गरी परियोजनाले कामकाज अगाडि बढाएको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वडाका वडा अध्यक्ष, अपाङ्गता भएकाका लागि पैरवी गर्ने विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, पत्रकारको सहभागिता रहेको थियो ।