• १२ साउन २०८१, शनिबार

आयोग गठन गरेर पीडितलाई अलमल्याउने काम भयो : सांसद गैरे

blog

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरे । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, चैत १९ गते । मिटरब्याजीहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले विरोध गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उहाँले मिटरब्याजबाट पीडित नागरिकलाई अलमल्याउने र पीडकलाई उन्मुक्ति दिनेगरी सरकारले सो आयोग बनाउने निर्णय गरेको उहाँले आशङ्का व्यक्त गर्नुभयो ।

सांसद गैरेले मिटरब्याज पीडितहरूलाई अलमल्याउने गरी सो उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरूलाई कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो मिटरब्याजीबाट पीडित भएका नागरिकमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेगरी जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ ।’

तत्काल पीडकहरूले कारबाही पाउनुपर्छ भन्ने कुरालाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु उहाँले भन्नुभयो । यो शून्य समय र विशेष समयमा उठेका कुराहरूको सरकारका मन्त्रीले, प्रधानमन्त्रीले जवाफै दिन नपर्ने । के यो नियम अनुसार नै हामी चलिराखेका छौँ ? सभामुख महोदय, यसको ध्यानाकर्षण गराउन चाहन्छु ।’