गाेरखापत्र अनलाइन
काठमाडाैँ, चैत १९ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान बत्ताउनुभएको छ ।
स्वास्थ्य अवस्थाबारे जानकारी लिन अनामनगरस्थित मिटरब्याज पीडितहरू बसिरहेको एक गुम्बामा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले सो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, ''पहिला कार्यान्वयन नभएकाले या समस्या भएकाले नै हामीले यसलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान लागेका हौँ, अब कार्यान्वयन हुन्छ, आयोग बनाउने प्रक्रिया अगाडि बढिसकेको छ । आयोग बनेर यसले लिने न्यूनतम समयमै कार्यान्वयनमा लान्छौँ ।''
यसअघि शनिबार मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको छ । सरकारसँग सहमति गरेसँगै मिटरब्याज पीडितहरू आन्दोलन फिर्ता लिएर घर फर्कने तयारीमा छन् ।
बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरू घर फर्कने तयारीमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य उपचारको लागि पहल लिनुभएको थियो । ११ दिनसम्म हिँडेर काठमाडौं आइपुगेका धेरै मिटरब्याजपीडितहरू बिरामी परेका थिए ।
सोही कारण उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पहल लिनुभएको हो । जसअनुसार उपप्रधानमन्त्री श्रेष्ठको पहलमा स्वास्थ्य मन्त्रालयले मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणलगायतका कार्यहरू गरिरहेको छ ।
स्वास्थ्य मन्त्रालयमार्फत चिकित्सकहरूले मिटरब्याज पीडितहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहँदा उपप्रधानमन्त्री श्रेष्ठ सोही स्थानमा पुग्नुभएको हो ।
अनुगमनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको स्वास्थ्य परीक्षण र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो ।
यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा हस्ताक्षर गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधान गर्न पहल लिएको एकदिन पछि नै मिटरब्याज पीडितसँग सहमति भएको हो ।