• १५ वैशाख २०८१, शनिबार

कुमाल समुदायद्वारा परम्परा र संस्कृति जोगाउन माग

blog

पाल्पाका कुमाल परिवार । फाइल तस्बिर

काठमाडौँ, चैत १९ गते । कुमाल समुदायले आफ्नो संस्कृति, परम्परा र भेषभूषाको संरक्षण गरी अधिकार सुनिश्चित गर्न माग गरेको छ ।

नेपाल कुमाल समाज सुधार समिति काठमाडौँको दोस्रो अधिवेशनका क्रममा आज समितिका केन्द्रीय अध्यक्ष विशाल कुमालले सामाजिक, आर्थिक र शैक्षिकरूपमा पछि परेको सीमान्तकृत कुमाल समुदायको संरक्षण, विकास र उनीहरूको दक्षता अभिवृद्धिमा ध्यान दिन सरकारसँग माग गर्नुभयो ।

स्थानीय सरकारको रूपमा रहेको हरेक पालिकाले पनि यसतर्फ ध्यान दिन नसकेको उहाँले बताउनुभयो । प्रदेश तथा स्थानीय तहमा कुमाल प्रतिनिधि चुनिन नसक्नुले यस समुदायको अवस्था कस्तो छ भनेर यथार्थ चित्रण आउने उल्लेख गर्दै उहाँले कुमाल समुदायलाई शैक्षिक तथा सीप प्रदान गरी शिक्षित र आर्थिकरूपमा सबल बनाउन जरुरी रहेको पनि बताउनुभयो । उहाँले कुमाल समुदायको भाषा, संस्कृति, रहनसहन वेशभूषाको अनुसन्धान गर्न पनि सरकारसँग माग गर्नुभएको छ । 

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख धनश्याम गिरीले काठमाडौँ उपत्यकामा पहिले–पहिले नेवार समुदायको संस्कृतिमात्रै देखिने गरेकामा अहिले हरेक समुदायका सांस्कृतिक गतिविधि देखिन थालेको बताउनुभयो । उहाँले अब कुमाल समुदायको संस्कृति पनि काठमाडौँमा देख्न पाइने भन्दै खुसी व्यक्त गर्नुभयो । यो समुदायको संस्कृति प्रवर्द्धन र सीप विकासका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । 

समारोहमा समितिका कोषाध्यक्ष शान्ति कुमालले १० वर्षअघि कार्यक्रम गर्दा कुमाल समुदाय खोज्नुपर्ने अवस्था रहेकामा अहिले भने सङ्गठित भएकाले स्वतःस्फूर्त उपस्थित हुने गरेको अनुभव सुनाउनुभयो । सो क्रममा अन्तर्राष्ट्रिय पौडी खेलाडी विकास कुमाल र युवा उद्यमी डेभिड कुमाललाई सम्मान गरिएको थियो ।