• १२ मंसिर २०८१, बुधबार

अति विपन्नका घर निर्माण

blog

फाइल तस्बिर ।

मीना कँडेल

कावासोती, चैत १८ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले अति विपन्न परिवारका लागि घर निर्माण सुरु गरेको छ। नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अति विपन्न परिवारका लागि निःशुल्क रूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजनाअनुसार काम सुरु गरेको हो। देवचुली नगरपालिकाभित्रका १७ वटा वडाभित्र चालु आर्थिक वर्षमा २५ वटा घर निर्माण गर्ने योजनाअनुसार काम सुरु गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो। सबै वडामा कम्तीमा एक अति विपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उहाँले बताउनुभयो। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अति विपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो। 

नगरपालिकाले दुई चरणमा २५ वटा घर निर्माण गर्ने योजना बनाएको छ। यसअनुसार पहिलो चरणमा २० वटा घरको काम सुरु गरिएको छ। थप पाँचवटाको प्रक्रिया अघि बढेको नगरपालिकाका इन्जिनियर टीकाराम बस्यालले बताउनुभयो। 

सबै वडामा अति विपन्न परिवारका लागि एक/एकवटा घर निर्माण हुनेछ। त्यस्तै वडा नम्बर २, ४, ७, ८ ९, १२, १५ र १६ थप एक/एकवटाका दरले २५ वटा घर निर्माण हुने इन्जिनियर बस्यालले बताउनुभयो। देवचुली नगरपालिकाले चालू आर्थिक वर्षमा अति विपन्न परिवारका लागि घर निर्माण गर्न एक करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ। प्रतिघर करिब छ लाख ७५ हजार रुपियाँ लागत लाग्नेछ। नगरपालिकाले विनियोजित बजेटबाट घर निर्माणका सबै काम पूरा गरेर अति विपन्न परिवारलाई हस्तान्तरण गर्ने इन्जिनियर बस्यालले बताउनुभयो।