• १२ असार २०८१, बुधबार

शिलान्यास मात्रै भए अस्पताल

blog

विजयकुमार साह 

ढल्केबर, चैत १८ गते । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३७६ स्थानीय तहमा एकसाथ आधारभूत अस्पतालको शिलान्यास गर्नुभयो। सङ्घ सरकारले स्थानीय आवश्यकता र सुविधालाई प्राथमिकता दिएर सुरु गरेको यो योजनालाई स्थानीय तह (सरकार)हरूले चाहीँ बेवास्ता गरिरहेका छन्। सङ्घीय सरकारले अधिकार र काम दिएन भन्ने गुनासो गर्ने प्रदेश तथा स्थानीय सरकार स्थानीय सामान्य विवाद पनि सुल्झाउन नसेकेर आधारभूत अस्पताल निर्माण गर्न पनि अक्षम देखिएका छन्।    

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि २०७७ मङ्सिर १५ गते एकै दिन एकै पटक ३७६ स्थानीय तहमा पाँचदेखि १५ शय्याका सुविधा सम्पन्न अस्पताल निर्माण गर्न शिलान्यास भएका थिए। धनुषाका १८ वटा स्थानीय तहमध्ये क्षीरेश्वरनाथ, गणेशमान चारनाथ, धनुषाधाम, मिथिला, मिथिला विहारी, विदेह, सबैला, शहीद नगर, हंशपुर, औरही, मुखियापट्टी मुसहरनिया र बटेश्वर गरी १२ वटा स्थानीयमा सोही दिन शिलान्यास भएको थियो तर ती सबै अस्पताल शिलान्यासमै सीमित हुन पुगेका छन्। शिलान्यासको दुई वर्षभन्दा बढी काट्दासम्म कुनै पनि स्थानीय तहले अस्पताल निर्माण पूरा गर्न सकेका छैनन्। 

कतै जग्गा विवाद त कतै जनप्रतिनिधिकै मत भिन्नताका कारण अस्पताल निर्माणले गति लिन नसकेको हो। मिथिला नगरपालिकाले १५ शय्याको अस्पताल निर्माणमा बल्ल तदारुकता देखाएको छ। नगरपालिकाका पूर्वनगरप्रमुख हरिनारायण महतोले अस्पताल निर्माण गर्न नगर क्षेत्रका चार ठाउँमा शिलान्यास भएपछि २०७८ चैत ३० गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्रचार गर्दै यस नगरपालिकामा अस्पताल निर्माण गर्न नसकिने जानकारी गराउँदै योजना नै रद्द गराउनुभएको थियो। सबैतिरको जग्गामा विवाद देखिएपछि बाध्य भएर योजना नै रद्द गर्नु परेको पूर्वनगरप्रमुख महतोले बताउनुभयो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७९ मङ्सिर २९ गते ढल्केबरमा १५ शøयाको अस्पताल निर्माण गर्न पुनः स्वीकृति दिएपछि बल्ल अस्पताल निर्माणको कार्य अगाडि बढेको छ। नगरपालिकाका वर्तमान नगरप्रमुख महेन्द्र महतोले आफू निकै दौडधुप र भनसुन गरेपछि १५ शय्याको अस्पताल पुनः योजनामा परेको दाबी गर्नुभयो। उक्त अस्पतालको डीपीआर तयार भइसकेको र निर्माण हुने जग्गामा माटो भर्ने काम भइरहेको उहाँले बताउनुभयो। 

क्षीरेश्वरनाथ नगरपालिकामा जग्गाको विषयमा कार्यपालिका सदस्यमै विवाद भएपछि अस्पताल निर्माणको काम शिलान्यासमै रोकिएको छ। तत्कालीन नगरप्रमुख योगेन्द्र पजियारले महेन्द्रनगरस्थित प्राथमिक स्वाथ्य केन्द्रको प्राङ्गणमा १५ शय्याको अस्पताल निर्माण गर्न शिलान्यास गर्नुभएको थियो। नगरपालिकाका वर्तमान नगरप्रमुख सुखदेव यादवले आफूले नेतृत्व सम्हालेदेखि अस्पताल निर्माणको विषयलाई लिएर अहिलेसम्म कुनै छलफल नभएको बताउनुभयो। कार्यपालिकामा यो विषयले प्रवेश नै नपाएको बताउँदै उहाँले निर्माण कार्य कहिले सुरु हुन्छ ठ्याक्कै भन्न नसकिने जानकारी दिनुभयो। 

धनुषाधाम नगरपालिकाले पहिलो तलासम्म निर्माण गरेको छ। नगरप्रमुख बालेश्वर मण्डलले १५ दिनअघि मात्रै पहिलो तलाको ढलानको काम सम्पन्न भएको बताउनुभयो। दोस्रो चरणको कामका लागि बजेट सुनिश्चित भएसँगै अस्पताल निर्माणको कामलाई गति दिने उहाँले जानकारी दिनुभयो। 

यस्तै बटेश्वर गाउँपालिकाले पनि पहिलो तलाको ढलान हालसालै सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १० करोड रुपियाँ लागतमा निर्माण भइरहेको अस्पताल एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यअनुसार निर्माण कार्यलाई गति दिइएको बताउनुभयो।  दुई वर्षभित्र निर्माणको काम सक्ने गरी काम थालिएको भए पनि जग्गा व्यवस्थापन, बजेट अभाव, जनप्रतिनिधिबीचको विवाद र डीपीआर तयारीलगायतका कारण यहाँ अस्पताल निर्माण ओझेलमा परेको छ। 

भठिहनका स्थानीय युवा महेश रायले स्थानीय तहको बेवास्ताले भवन निर्माणको काम अलपत्र परेको बताउनुभयो। “आधारभूत अस्पताल सञ्चालन भए बिरामीले गाउँमै सहज र गुणस्तरीय उपचार सेवा पाउने थिए तर यहाँका धेरैजसो स्थानीय तहमा गतिलो अस्पताल नहुँदा जनकपुरधाममा गएर उपचार गराउनुपर्ने बाध्यता छ। कतिपयले प्राथमिक उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेकाले स्थानीय तहले अस्पताल निर्माणमा गम्भीरता देखाउनुपर्छ,” उहाँको भनाइ छ।