• २१ वैशाख २०८१, शुक्रबार

सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रम शुभारम्भ

blog

युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ कार्यक्रममा सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत १७ गते । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र युएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्शाडले आज मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग संयुक्त रूपमा युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ गर्नुभएको छ । दुई करोड अमेरिकी डलर (करिब २ अर्ब ६२ करोड रुपियाँ) बजेटसहितको उक्त पाँच वर्षे कार्यक्रमले नेपालका मधेस र लुम्बिनी प्रदेशहरूमा सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउनेछ ।

यस क्रियाकलापमार्फत युएसएआईडी र नेपाल सरकारले राष्ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापनसँग सम्बन्धित संस्था र प्रणालीलाई सुदृढ र उन्नत बनाउन साझेदारी गर्नेछन् । कार्यक्रममा स्थानीय सरकारका मेयर र उपमेयरसहित मधेस प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको उपस्थिति थियो ।

अमेरिकी राजदूत डिन थम्पसनले लोकतन्त्र तब फस्टाउँछ जब नेताहरू नागरिकप्रति उत्तरदायी हुन्छन् भन्नुभयो । युएसएआईडी नेपालकी प्रमुख सेपिडे केभान्शाडले पालिकाले आफ्ना बजेटमा महिलाका आवश्यकतालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । महिलाको सीपमूलक तालिम, व्यवसायका अवसर र किशोरी तथा आमाहरूका निम्ति शिक्षा र स्वास्थ्य कार्यक्रम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

तीनै तहका सरकारका सम्बन्धित सरोकारवालाहरूले उक्त क्रियाकलापअन्तर्गत पहिलो वर्ष चालिने कदमहरूबारे छलफल गरेका छन् । अमेरिका र नेपालका सरकारबीचको यो संयुक्त क्रियाकलाप हाम्रा दुई देशबीचको ७५ वर्षभन्दा बढीको मित्रतामा आधारित छ ।