राममणि दाहाल
हेटौँडा, चैत १७ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले नागरिकको स्वास्थ्यमाथि चरम लापरबाही गर्दैआएको पाइएको छ । निजी अस्पतालले म्याद गुज्रेको औषधि उपचारका लागि आउनेलाई बिक्री गर्नुका साथै फार्मेसीसमेत अवैध रूपमा सञ्चालन गर्ने गरेको भेटिएपछि सो फार्मेसीमा ताला लगाइएको छ ।
हेटौँडा उपमहानगरपालिका –११ स्थित चुरेहिल अस्पतालले सञ्चालन गर्दैआएको फार्मेसी स्वीकृतिबिना नै सञ्चालन गर्दैआएको पाइएको छ । हेटौँडामा लामो समयदेखि सञ्चालनमा रहेको सो अस्पतालको फार्मेसीमा बिक्रीका लागि पाँच वर्षअघि म्याद गुज्रेको औषधिसमेत राखेको भेटिएको छ ।
एकीकृत बजार अनुगमन समितिले बजार अस्पताल अनुगमनका क्रममा अस्पतालले औषधि व्यवस्था विभागबाट स्वीकृतिबिना नै फार्मेसी सञ्चालन गरेको पाइएपछि फार्मेसीमा ताला लगाएको छ ।
अस्पतालले २५ शैय्या सञ्चालन स्वीकृति लिएर सोभन्दा बढी शैय्या राखेर सञ्चालन गर्दैआएकोमा प्रशासनबाट अनुगमन आउने जानकारी पाएपछि अस्पतालमा प्रयोग हुँदैआएको शैय्या स्टोरमा लगेर राखेको भेटिएको थियो । अनुगमन टोलीको आँखा छल्नकै लागि स्वीकृति लिएकोभन्दा बढी शैय्या स्टोरमा लुकाइएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीले फार्मेसीमा म्याद गुज्रेका सर्किजल सामग्रीहरू पाइएपछि कारबाहीका लागि औषधि व्यवस्था विभाग वीरगञ्जलाई अनुरोध गर्ने निर्णय गरेको छ । अस्पतालले आव २०७७/७८ देखि कर चुक्ता गरेको नपाएकाले चैत २४ गतेभित्रमा कर चुक्ता गरी सोको जानकारी दिन निर्देशन दिएको छ ।