सुजन काफ्ले
चरीकोट, चैत १७ गते । दोलखाको गौरिशंकर गाउँपालिकामा वर्षौदेखि एक्सरे मेसिन स्टारेमै थन्किएपछि प्रयोगमा आउन सकेको छैन । गाउँपालिका –५ सुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति (रेडियोग्राफर) नहुँदा एक्सरे मेसिन वर्षौदेखि स्टोरमै थन्किएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रले एक्सरे मेसिन रेडियोग्राफर नभएका कारण स्टोरमा थन्किएको स्वास्थ्य केन्द्रले जनाएको छ । लगभग पाँच वर्षअघिदेखि उक्त मेसिन प्रयोगमा नआएको सुरी प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अनमी सुस्मिता बराइलीले बताउनुभयो ।
प्रायः दिनहुँ लडेका, हात खुट्टा मर्केका, ठोकेका, भाँचेका, टाउको, छातीको एक्सरे गर्नुपर्ने बिरामीहरु स्वास्थ्य केन्द्रमा आउने गरेको उहाँले बताउनुभयो । एक्सरे मेसिन भएर पनि चलाउने रेडियोग्राफर नभएकै कारण अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
सरोकारवालाको चासो नभएकै कारण मेसिन प्रयोगविहिन अवस्थामा पुगेको स्थानीयहरुको गुनासो छ । जिल्लाको उत्तरी क्षेत्रमा अस्पतालको रुपमा यही स्वास्थ्य केन्द्र मात्र छ । यता गौरीशंकर गाउँपालिका –५ का वडाअध्यक्ष सुन्दर खड्काले छिट्टै मेसिन सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।
एक्सरे मेसिन चलाउन सक्ने दक्ष रेडियोग्राफरलाई तलब सुविधाका लागि गाउँपालिकामा प्रस्ताव पेश गरेको र छिट्टै मेसिन प्रयोगमा ल्याउने योजना रहेको खड्काले बताउनुभयो ।