• १४ वैशाख २०८१, शुक्रबार

पानीको मूल्य पाँच महिनाभित्र घट्छ : मन्त्री खान

blog

सिंहदरबारभित्र चार स्थानम सार्वजनिक खानेपानीको धारा उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री अब्दुल खान । तस्बिर L न्यूज एजेन्सी

काठमाडौं, चैत १७ गते । खानेपानी मन्त्री अब्दुल खानले पानीको मूल्य पाँच महिनाभित्र घटाएरै छोड्ने दाबी गर्नुभएको छ । शुक्रबार सिंहदरबारभित्र चार स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्नुहुँदै मन्त्री खानले बोतल र जारमा महँगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्नुहुँदै पानीको मूल्य पाँच महिनाभित्र घटाएरै छोड्ने दाबी गर्नुभएको हो ।

‘‘बोतल र जारको पानीमा जुन अनियमितता, महँगी छ त्यो नहुनुपर्ने हो, पानीमा हामी धनी हुँदाहुँदै पनि महँगोमा किनेर खानुपर्ने कुरा दुःखको कुरा हो, पानीको मूल्य घटाउनुपर्छ ।,’’ मन्त्री खानले भन्नुभयो, ‘‘खानेपानीको समस्या समाधान गर्ने, दुईदेखि अढाई वर्षसम्म तराई मधेशका समस्या समाधान गर्ने र पाँच वर्षभित्र देशको पानी विदेशमा निर्यात गर्ने योजना छ । दुईदेखि तीन महिना र पाँच महिनासम्ममा बोतल र जारको पानीको मूल्य घटाउँछौँ । एक वर्षभित्रमा मेलम्ची दुईको समस्या समाधान गर्नेछौँ ।’’


उहाँले देशका रेक क्षेत्रमा पाँच वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको पनि बताउनुभयो । मन्त्री खानले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरु गरेको बताउनुभयो ।

‘‘हामीले एक घर एक धाराको अभियानका रुपमा काम अघि बढाइरहेका छौँ । यो काममा हाम्रो मन्त्रालय अघि बढेको छ । हामीले पानीको वितरण दुई महिनाभित्र अघि बढेको छ, यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन ।,’’ मन्त्री खानले भन्नुभयो, ‘‘सार्वजनिक धारा हामीले अहिले सिंहदरबारका विभिन्न स्थानमा राखेका छौँ, यसका अलावा हामीले सार्वजनिक स्थल, अस्पताल, बसपार्क, एयरपोर्टमा राख्ने सोच छ । मैले जुन स्प्रिटले काम गर्नुपर्ने हो त्यो अनुसार त अहिले पनि काम गर्न पाएको छैन । किनभने विभिन्न किसिमका बाधाहरु हुन्छन्, त्यो बाधाहरु पार गर्दै अघि बढ्ने स्प्रिट पाएको छैन ।’’

शुक्रबार खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रुपमा सेवा पाउनेगरी स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो । निकट भविष्यमा काठमाडौं उपत्यकाका अन्य सार्वजनिक ठाउँमा सेवा विस्तार गर्ने मन्त्रालयको योजना छ ।  

यसैगरी, मन्त्री खानले अब छिट्टै नै विभिन्न सार्वजनकि स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताउनुभयो । उहाँले मन्त्रालयका विभिन्न समस्याका कारण अझैपनि आफूले चाहेको गतिमा काम गर्न नसकेको औंल्याउनुभयो ।