• १० वैशाख २०८३, बिहिबार

भ्रष्टाचार र कुशासनविरुद्ध निर्मम उत्रिने

blog

विराटनगर समाचारदाता

विराटनगर, वैशाख १० गते । नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रष्टाचार र कुशासनको मुद्दामा पार्टीले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कायक्रममा उहाँले कांग्रेसमाथि नियोजित रूपमा लगाइएको ‘पुरानो, भ्रष्ट र अक्षम’ भन्ने भाष्य चिर्न अब सुशासनको मुद्दामा पार्टी निर्मम भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

सभापति थापाले भन्नुभयो, “कहिलेकाहीँ सिंह पनि अगाडि जानका लागि दुई चाल पछाडि सर्छ, हामी पनि सङ्गठित हुन र बलियो भएर आउन पछाडि हटेका हौँ,” उहाँले भन्नुभयो, “कांग्रेसले अब कसैको बैसाखी टेकेर होइन, आफ्नै भुइँमा  उभिएर देशको नेतृत्व गर्ने छ ।”

समीक्षा कार्यक्रममा थापाले पार्टीको पहिचान धमिलिएकोमा चिन्ता व्यक्त गर्नुभयो । सत्ता गठबन्धनको राजनीतिका कारण जनताले कांग्रेस चिन्नै छोडेको तर्क गर्दै उहाँले १० लाख मतदाता टाढिनुको निर्मम समीक्षा हुनुपर्ने बताउनुभयो । “हामी एमाले र माओवादीसँग यति धेरै मिसियौँ कि हाम्रो आफ्नै मौलिकता हरायो,” थापाले भन्नुभयो, “अब चिन्ता गरेर समय खेर फाल्ने होइन, चिन्तन गरेर समाधान खोज्ने बेला आएको छ ।”

प्रविधि र नयाँ पुस्ताको चुनौतीबारे चर्चा गर्दै सभापति थापाले भन्नुभयो, “आज कक्षा ९ र १० मा पढ्ने छोराछोरीले सामाजिक सञ्जालको प्रभावमा परेर घरको मत निर्धारण गरिरहेका छन् । हामीले टिकटक र फेसबुकको प्रभाव बुझ्न सकेनौँ ।” पार्टीलाई आधुनिक बनाउन उहाँले आठ लाख क्रियाशील सदस्यका लागि ‘डिजिटल आइडेन्टिटी’ र अनलाइन नवीकरणको नयाँ अवधारणा अघि सार्नुभयो ।

कांग्रेस महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे तथा उपसभापति पुष्पा भुसालले पार्टीलाई फेरि ‘जरा’ सम्म पु¥याउनुपर्ने र १५ औँ महाधिवेशनमार्फत कांग्रेसलाई मुलुकको पहिलो शक्तिका रूपमा पुनस्र्थापित गर्ने दृढता व्यक्त गर्नुभयो । प्रदेश र स्थानीय सरकारमार्फत सुशासनको नमुना पेस गरेर जनताको मन जित्न थापाले कोशी प्रदेशका कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।