• ११ असोज २०८१, शुक्रबार

पाटनले खरिद गर्‍यो एम्बुलेन्स

blog

बैतडी समाचारदाता

बैतडी, चैत १७ गते । बिरामीलाई आपतकालीन सेवा दिन बैतडीको पाटन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ। आधारभूत स्वास्थ्य सेवा दिने जिम्मेवारी स्थानीय तहमातहत आएपछि सुत्केरीलगायत बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स खरिद गरेको नगरपालिकाले जनाएको छ। 

२२ लाख ९० हजार रुपियाँ खर्च गरेर नगरपालिकाले ‘ख’ वर्गको एम्बुलेन्स किनेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो। 

नेपाल सरकारले ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाउने नियम बनाएपछि नगरपालिकाले ‘ख’ वर्गको एम्बुलेन्स खरिद गरेको स्वास्थ्य शाखा संयोजक मदनसिंह महराले बताउनुभयो।

बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाहेक बैतडीका अन्य स्थानीय तहले एम्बुलेन्स सञ्चालन गर्न सकेका छैनन्। बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन्। 

बैतडीको दुर्गम सिगास गाउँपालिका र पुरचौडी नगरपालिकामा एम्बुलेन्स नहुँदा बिरामीले महँगो भाडा तिरेर सार्वजनिक जिप बुक गर्नुपर्ने अवस्था रहेको स्थानीय दीपक धामीले बताउनुभयो।