नारद कोहार
तौलिहवा, चैत १६ गते । राजा शुद्धोधनको राजदरबार तथा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा भिक्षुहरूलाई भिक्षाटन गरिएको छ । उहाँहरू शिक्षासहित भिक्षाटन गर्न बुद्धस्थल प्राचीन तिलौराकोट आएका हुन । दुई साताअघि उनीहरू पाँचसय जना एकै पटक लुम्बिनीमा भिक्षु जीवनमा प्रवेश गरेका थिए ।
भिक्षु जीवनमा प्रवेश गरेको तीन सय बढी नवप्रवेशीहरु भिक्षाटन गरेका हुन । तिलौराकोट आएका उहाँहरूलाई कपिलवस्तु नगरपालिका –३ का वडाध्यक्ष प्रकाश गैरे, वाटथाई मन्दिरका उपाध्यक्ष राजेश ज्ञवाली, प्रदेश निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष दिनेश हमाल, व्यवसायी देवेश जैसवालले भिक्षादान गरेका थिए ।
तिलौराकोटको पश्चिमद्वारमा भिक्षा ग्रहणलगत्तै उहाँहरूले दरबार परिसर, मौर्याकालिन पोखरी र पूर्वीद्वारलगायतका क्षेत्रको अवलोकन समेत गरेको थिए । साथै तिलौराकोट आएर उहाँहरूले विश्व शान्तिका लागि प्रार्थना र पाठ समेत गरेका थिए । उहाँहरूले तिलौराकोटमा पश्चिमी र पूर्वीद्वार तथा राजप्रसादका भग्नावशेष परिक्रमा गरेका हुन ।
पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका पाँच सय जनाले सामूहिक रूपमा प्रव्रज्या लिएर गत चैत २ गते श्रामनेर बनेका छन् । श्रामनेर भनेको भिक्षु जीवन प्रवेशको पहिलो खुट्किलो हो । भिक्षु जीवनमा प्रवेश शुभारम्भ गर्नु हो । भगवान् गौतम बुद्धको अनुयायी बन्न पनि कठिन परिश्रम र सङ्घर्षबाट मात्र हुन सकिन्छ भन्ने अनुभूति दिलाउन उनीहरूलाई पारिवारिक मायामोहबाट अलग बनाएर केही दिनदेखि दीक्षित गरिदैआएको छ । नव प्रतिवेशी श्रामनेरलाई ७५ सेखिया विनय शिक्षापद र १० सिल सिकाइएको छ । तच पञ्चक ध्यान सिकाइएको छ। भिक्षुहरुले राम्ररी व्यवहारमा उतारेको पाइयो भने दुई चार महिनामै भिक्षु सङ्घले पूर्णभिक्षु बनाउन सक्ने भिक्षु महासङ्घ अध्यक्ष शोभन महाअस्थबीरले बताउनुभयो ।
नबप्रवेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्त्व र बुद्धले बुद्धत्व प्राप्त गर्दा पाएको कष्ट पीडाबारे जानकारी दिइएको छ । त्यस्तै, भिक्षु जीवन, करुणा, मैत्री सद्भाव र भाइचारालगायतका विषयमा ज्ञान दिइएको छ ।
२० दिने अल्पकालीन भिक्षु बनाउने कार्यक्रम भोलि चैत १७ गते सकिँदै छ । बुद्ध धर्मअनुसार शाक्यहरू एक दिनका लागि भए पनि भिक्षु बन्नपर्छ भन्ने मान्यता रहेको छ । प्रव्रज्या लिएपछि कतिपय भिक्षु जीवन नै व्यतीत गर्छन् । कतिपय फेरि गृहस्थ जीवनमै फर्कन्छन् । गौतमबद्धको अनुयायी बन्न कठिन परिश्रम र सङ्घर्ष गर्नुपर्छ भन्ने अनुभूति दिलाउन पारिवारिक मोह मायाबाट अलग राखेर दीक्षा दिँदै श्रामनेर बनाइएको हो । भिक्षु जीवनमा प्रवेश गरेका उहाँहरूले बुद्ध शिक्षा, सिल र चीवर लिएर भिक्षु बन्नुभएको हो ।