• २३ वैशाख २०८१, आइतबार

नेपाल राष्ट्रिय पुस्तकालय व्यवस्थित गर्न सरकारसँग सांसदको माग

blog

काठमाडौं, चैत १६ गते । राष्ट्रिय सभाका सांसदहरूले नेपाल राष्ट्रिय पुस्तकालय अव्यवस्थित बनेको र पुस्तकहरू नष्ट हुँदै गएको भन्दै सरकारले संरक्षण गर्नुपर्ने माग गरेका छन् । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा सांसदहरूले यस्तो माग राखेका हुन् ।

समितिद्वारा केही दिन अघि गरिएको पुस्तकालयको अवलोकन भ्रमणमा देखिएका विषयमाथि गरेको छलफलमा अधिकांश सांसदहरूले पुस्तकालयको सुधार गरी व्यवस्थित बनाउन माग गरे । समितिले यसै साता पुस्तकालयको अवलोकन गरेको थियो । पुस्तकालय अवलोकनमा पुस्तकालयको अवस्था नाजुक रहेको पाइएको सांसदहरूले बैठकमा बताए ।

उनीहरूले सरकारी स्वामित्वको राष्ट्रिय पुस्तकालयमा राखिएका पुराना पठन सामग्री पुस्तक तथा पत्रपत्रिकामा किरा, धमिरा, ढुसी, ओस र धुलोको कारण नष्ट हुन थालेको देखिएको बताए । सांसदहरूले पुस्तक तथा पत्रपत्रिकामा लागेको पत्रपत्रिकामा किरा, धमिरा, ढुसी, ओस र धुलोको कारणको कारण रोग लाग्नसक्ने अवस्था रहेकाले सरकारले त्यसको तत्काल व्यवस्थापनका लागि काम गर्न समितिले ध्यानाकर्षण गराउनुपर्ने जानकारी दिए ।

बैठकमा समिति सभापति मायाप्रसाद शर्माले पुस्तकालयका पठन सामग्री बजेट अभावका कारण अव्यवस्थित भएको भन्दै व्यवस्थापनका लागि समितिबाट बजेटको सहजीकरण गरिदिन माग आएको बताउनुभयो । उहाँले पुस्तकालयको दराज, भवनको छत, अध्ययन कक्ष, पुस्तकालयमा पुरिएर बसेका पुराना पुस्तकहरूको उत्खनन गर्नुपर्ने देखिएको जानकारी दिनुभयो । पुस्तकालयमा देखिएका समस्या हल गरी पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन ८५ लाख बजेट माग गरिएको उहाँको भनाइ छ ।

सभापति शर्माले सरकारको स्वामित्वमा रहेकाले पुस्तकालयलाई व्यवस्थित गरी बचाउन सबै मिलेर लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले राज्यको सम्पत्ति पुस्तकालयमा रहेकाले यसको संरक्षणका लागि शिक्षा मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी बजेट व्यवस्थापनका लागि पहल गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले भूकम्पका कारण पुस्तकालयका पुस्तक सामग्री अव्यवस्थित देखिएको भन्दै पुस्तकालयको संरक्षण गर्न सबै जिम्मेवार पक्षले पहल गर्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै, छलफलमा बोल्दै सांसद तुलसाकुमारी दाहालले पुस्तकालयको समस्यामाथि तत्कालीन र दीर्घकालीन समाधानका उपाय पहिल्याएर सम्बन्धी पक्षसँग छलफल गरी सरकारले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले पुस्तकालयमा भएको तत्काल नष्ट हुने पुस्तक, पत्रिका संरक्षण गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले स्थायी भवन निर्माणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग सहकार्य एवम् समन्वयन गर्न समितिले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारको सम्पत्ति पुस्तकालय भएपनि निजी पुस्तकालय जस्तो पनि नभएको टिप्पणी गर्नुभयो ।

त्यस्तै, अर्का सांसद सुमित्रा बि.सीले पुस्तकालय व्यवस्थित बनाएर जानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर जानका लागि शिक्षा मन्त्रीसँग नै छलफल गरेर जानुपर्ने बताउनुभयो । उहाँले पुस्तकालयको भवन अस्थायी भएको भन्दै सकेसम्म आगामी आर्थिक वर्षमा नै भवनको लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्ने जानकारी दिनुभयो ।

सांसद नरबहादुर विष्टले सरकारले चाहेको खण्डमा ८५ लाख रुपियाँ तत्काल दिनसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले चार महिनाभित्र व्यवस्थित बनाउने गरी समितिले निर्देशन गर्न आवश्यक रहेको जानकारी दिनुभयो । विष्टले पुस्तकालय भनिएको छ पढ्न जाँदा बिरामी हुने अवस्था रहेको बताउनुभयो ।

छलफलमा सांसद युवराज शर्माले पुस्तकालयमा बस्ने कर्मचारीले समेत पुस्तकहरू छुनसक्ने अवस्था नभएको बताउनुभयो । उहाँले मुलुकको राष्ट्रिय पुस्तकालयको अवस्था व्यवस्थित हुन नसक्नु दुःखदायी रहेको जानकारी दिनुभयो ।

समितिको छलफलमा पुस्तकालय नेपालको इतिहास, राज्यको सम्पत्तिका रहेकाले संरक्षण गर्नुपर्ने, तत्काल डिजिटल गर्नुपर्ने विषयमाथि समितिमा छलफल भएको थियो । भूकम्पका कारण हरिहरभवनस्थित पुस्तकालय भवन भत्किएपछि अहिले सानोठिमीमा रहेको आफ्नै अस्थायी भवनबाट सेवा दिइरहेको छ ।