• २३ भदौ २०८१, आइतबार

सञ्चार क्षेत्र समावेशी बनाउन पहल गर्ने उपराष्ट्रपति यादवको प्रतिबद्धता

blog

बुधबार नेवाः पत्रकार राष्ट्रिय दबूका तर्फबाट बुझाइएको ध्यानाकर्षण पत्र बुझेपछि धारणा राख्नुहुँदै उपराष्ट्रपति रामसहायप्रसाद यादव । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौं, चैत १५ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवले सञ्चार क्षेत्र पूर्ण समावेशी हुनुपर्नेमा जोड दिनुभएको छ। मुलुकको परिर्वतन, लोकतान्त्रिक संघर्षसँगै जनताले गर्ने हरेक आन्दोलनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ।

नेवाः पत्रकार राष्ट्रिय दबूका प्रतिनिधिसँग बुधबार लैनचौरसहित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटघाटको क्रममा उहाँले यस्तो बताउनुभएको हो। 

उपराष्ट्रपति यादवले सामाजिक न्याय, लोकतन्त्र र परिर्वतनको लागि सञ्चार जगतको भूमिकाको सराहना गर्दै सञ्चार क्षेत्र समावेशी भए त्यसले बढी भन्दा बढी जनताको आवाजलाई मुखरित गर्न सक्ने धारणा राख्नुभयो। 

नेपालको विविध भाषा, संस्कृति र संस्कार राष्ट्रिय एकताको भाव वृद्धि गर्ने महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्दै उहाँले यसको संरक्षणका लागि पत्रकारिता मार्फत योगदान दिनुपर्ने बताउनुभयो। 

उपराष्ट्रपति यादवले नेपाली सञ्चार क्षेत्रमा मातृभाषाको पत्रकारिता विकासका लागि उपयुक्त नीति अवलम्बन गर्न आफूले ध्यानाकर्षण गराउने बताउनुभयो।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूको तर्फबाट अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले उपराष्ट्रपति यादव शुभकामना सहितको सम्मानपत्र प्रदान गर्नुभयो। त्यसैगरी वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले समावेशी सञ्चारको सम्बन्धमा राज्यले गर्नुपर्ने नीति, कार्यक्रमबारे समेटिएको ध्यानाकर्षणपत्र उपराष्ट्रपति यादव समक्ष बुझाउनुभयो।

सो अवसरमा दबूका महासचिव कृष्णकाजी मानन्धर, सचिव राजु नापित, सहसचिव सुनीता डंगोलले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासको लागि समावेशी र मातृभाषाको पत्रकारिताको विकास गर्नुपर्नेमा धारणा राख्नुभयो।