टन्टलापुर घाममा टुक्र्याइरहन्छौ ढुङ्गा
बनाउँछौै पहाड जत्रै गिट्टीको थुप्रो
गिट्टीकै आकारमा उठ्ने गरी ठेला ।
डोकोको पिँधबाट झार्दै साउने झरी
बिताइदिन्छौ बर्सात बालुवा ओसारी–ओसारी ।
सहेर एक्लै पीडाको पहाड पठाउँछौ विदेश बाबालाई
काठका तख्ता, रडका मुट्ठा, सिमेन्टका बोरा बोक्नलाई ।
सँगै बस्ने चाहना र सपनालाई साँचेर
कटाउँछौ एक्लो रात सम्झँदै न्यानो अँगालो ।
पुस साँच्चै फासफुस बित्छ
पत्तै हुन्न कति बेला
गन्दा गन्दै इँटाका पाना, भर्दा भर्दै डोको
एकै सासमा बिताइदिन्छौ ती चिसा दिन ।
के थाहा, त्यो सधैँको नाङ्गो पैतालालाई
कति ठण्डा छन् ती दिनहरू?
इँटाका भारीले पेलेर निकालेको
जिन्दगीको तातो तेलमा डुबुल्की मारेको छ माघ ।
साँच्चै मेरी आमा,
कहिल्यै फुर्सदिलो भेटेको छैन मैले तिमीलाई
सधैँ असारको पन्ध्र हुन्छ तिमीलाई
बालुवा, रड, सिमेन्ट अनि गिट्टी ।
सपनामा पनि सायद यही देख्दी हौ तिमी ।
अनि बनाउँदी हौ,
जोडेर काठको तख्ता, कलात्मक झ्याल ढोका
बनाउँदी हौ सुन्दर गगनचुम्बी महल ।
तर, विपनामा कहिल्यै बनाइनौ
जुन तारा छेकिने छानो,
झरी तर्काउने ओत, बर्सात छल्ने गारो ।