• २० वैशाख २०८१, बिहिबार

महोत्तरीमा एसइई दिने परीक्षार्थीको सङ्ख्यामा वृद्धि

blog

गत वर्ष गौशाल नपास्थित त्रिभुवन मावि केन्द्रमा सञ्चालित एसईई परीक्षा । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, चैत १५ गते । स्कुले विद्यार्थीका लागि फलामे ढोका मानिने एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष करिब चार प्रतिशतले वृद्धि भएको छ ।

शिक्षा विकाश तथा समन्वय इकाईका अनुसार शुक्रबार (१७ चैत) देखि सञ्चालन हुने एसइईमा महोत्तरी जिल्लाबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या नौ हजार ५४ पुगेको हो । यसमध्ये नियमित साधारणतर्फ आठ हजार ४२०, प्रविधितर्फ ४०१ र ग्रेड वृद्धितर्फका परीक्षार्थीको सङ्ख्या १९८ रहेको छ ।

गत वर्ष (०७८) महोत्तरीबाट एसइई दिनेको सङ्ख्या आठ हजार ७५८ मात्र थियो । परीक्षार्थीको सङ्ख्या वृद्धिसँगै परीक्षा केन्द्रसमेत थप गरिएको छ । इकाई प्रमुख भरतबाबु सुवेदीका अनुसार गत वर्षको तुलनामा एउटा केन्द्र थप भई परीक्षा केन्द्रको सङ्ख्या ३१ पुगेको छ । नयाँ थपिएका केन्द्रमा दुर्गा मावि पथलैया हो ।

तोकिएका केन्द्रमध्ये श्रीप्रसाद मावि औरहीबाट सबैभन्दा बढी ४०४ तथा सबैभन्दा कम नयाँ केन्द्र पथलैयाबाट १९८ जना विद्यार्थी सहभागी हुने छन् ।

महोत्तरीमा सञ्चालित निजी तथा सामुदायिक गरी १३० माध्यमिक विद्यालयले यो वर्ष एसइईमा विद्यार्थी सहभागी गराइने छ । गत वर्ष सहभागी हुने विद्यालयको सङ्ख्या १२६ थियो ।

केन्द्र निर्धारण लगत्तै परीक्षा समन्वय समितिको बैठकले ३१ केन्द्राध्यक्ष, ५९ सह केन्द्राध्यक्ष, ९० परीक्षा सहायक र १८१ कार्यालय सहयोगी परिचालन गर्ने तयारी गरेको छ । यो पटक महोत्तरीका कुनै पनि केन्द्रमा महिला केन्द्राध्यक्ष तोकिएको छैन । 

केन्द्राध्यक्ष नियुक्तिमा कुनै प्रकारको भागबण्डा नभएको इकाई प्रमुख सुवेदीको दाबी छ । राष्ट्रिय परीक्षा बोर्डले केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्ति गर्ने प्रावधान राखेकाले यस्ता अनियमितता अन्त्य भएको उहाँले बताउनुभयो  ।

‘‘परीक्षा केन्द्रमा सहभागी नभएका विद्यालयका प्रावि र निमावि शिक्षकलाई निरीक्षकलगायतको जिम्मेवारी दिने बोर्डको नियमावलीमै प्रावधान राखिएकाले सोर्स र दबाब आउने छैन,’’ सुवेदीले भन्नु भयो ।

प्रहरी उपरीक्षक प्रकाश मल्लले परीक्षामा शान्ति सुव्यवस्था कायम गर्न चार तहको सुरक्षा व्यवस्था मिलाएको बताउनुभयो ।

प्रहरी परीक्षक मल्लकाअनुसार जिल्लाभरका केन्द्रमा सादा फोसाकामा सशस्त्र र नेपाल प्रहरीका गरी करिब पाँच सय सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।

शिक्षा विकाश तथा समन्वय इकाईका परीक्षा शाखा प्रमुख पङ्कज झाले परीक्षाका सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । ‘‘सबै केन्द्रमा प्रश्न पत्र, उत्तर पुस्तिकालगायतका परीक्षा सामाग्रीसमेत पुर्‍याई सकिएको छ’’ उहाँले भन्नुभयो ।

जिल्ला परीक्षा समन्वय समितिले एसइईलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय तह लगायत सरोकारवाला सबैसँग आग्रह गरेको छ ।