• १३ मंसिर २०८१, बिहिबार

तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल

blog

तौलिहवा समाचारदाता

तौलिहवा, चैत १४ गते । शाक्य गणराज्यको राजधानी प्राचीन तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि मनोनयन दस्तावेज तयार पार्न विज्ञहरूसँग छलफल गरिएको छ।

 नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका विज्ञहरूसँग कार्यशाला गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि दस्तावेज तयार पार्ने कामलाई तीव्रता दिएको हो।

पुरातìव विभागका महानिर्देशक दामोदर गौतमले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पर्ने राणनीतिक योजना, सन्नीकट क्षेत्र र विश्व सम्पदामा पेस गर्ने कागजात तयार पार्न विज्ञहरूसँग छलफल भएको बताउनुभयो। तिलौराकोटमा गरिएको अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको उहाँले बताउनुभयो। नेपाल सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्नका लागि सन् २०२४ सम्मको समयसीमा दिइएको महानिर्देशक गौतमले बताउनुभयो।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विज्ञहरूको छनोटका साथै कार्यहरू पनि अगाडि बढाइसकिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो। विश्व सम्पदामा राख्न आवश्यक पर्ने समस्यालाई कसरी समाधान गर्नेलगायतका विषयमा सरोकारवालासँग छलफल गरिएको उहाँले बताउनुभयो।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न सकेमा कसको दायित्व कति रहने त्यो पनि स्पष्ट नीति बनाएर अगाडि बढ्नु पर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेशसारश श्रेष्ठले बताउनुभयो। 

सन् १९९६ सालमै तिलौराकोट सम्भाव्य विश्व सम्पदा सूचीमा रहेकाले सन् २०२४ सम्ममा सूचीकृत गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो।

छलफलमा अन्तर्राष्ट्रियविज्ञ डा. डङ्कन मार्सल (अस्ट्रेलिया), प्रा.डा. रविन कनिङ्हम (बेलायत), प्रा.डा. युकियो निसिमुरा (जापान)सहित नेपालका तर्फबाट विज्ञहरू प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशीको उपस्थितिमा मनोनयन दस्तावेजका लागि विधागत विषयमा गहन छलफल गरिएको छ। 

मनोनयन दस्तावेजमा पुरातत्व विभागका पूर्वमहानिर्देशक वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्य र पुरातìवविद् वसन्त बिडारीले विज्ञहरूको निष्कर्षमाथि थप सुझाव दिनुभएको थियो।