जानु पाण्डे
कपिलवस्तु, चैत १४ गते । वयस्क सालको रुख। हलक्कै बढेको छ तर फेदमा गाँठागुठी भएर मानिसको भुँडी उठेजस्तो फुडुल्को देखिन्छ। त्यही गाँठागुठीलाई ‘क्याङ्कर’ भनेर चिनिन्छ। बिरुवा हुर्कंदै जाने क्रममा डाँठमा सङ्क्रमण हुँदा ‘क्याङ्कर’ हुन्छ। तराईका वन क्षेत्रमा मानवीय असरका कारण क्याङ्कर हुँदा आर्थिक ह्रास मात्र होइन, वन व्यवस्थापन प्रभावित बनेको छ।
मानवीय गल्तीले हुने डढेलो, हुर्कंदै गरेका लाथ्रा काट्दा र खुला चरिचरणले क्याङ्कर हुने गरेको विज्ञहरू बताउँछन्। जसका कारण सालको बोटको गाभी कुहिएर धोद्रो हुने गर्दछ। सामान्यता ८० वर्षपछि सालको रुख बूढो हुँदै जाँदा गाभी धोद्रो हुन्छ तर क्याङ्करका कारण उमेर नपुग्दै रुख धोद्रो भएर हुर्कंदै जान्छन्।
जसले गर्दा त्यसबाट उत्पादन हुने बिरुवासमेत अस्वस्थ हुने वन संरक्षणकर्मी विजयराज सुवेदीले बताउनुभयो। वन प्राविधिक शिव केसी र वन व्यवस्थापनका उपप्राध्यापक सुमन भट्टराईको ठम्याइँ पनि उस्तै छ। तराई–मधेशका बस्ती नजिकका वन क्षेत्रमा यस्तो समस्या धेरै देखिएको छ।
यो समस्या वनमा लागेको डढेलो, सानो बोट हुँदा पशु चौपायाले खाएर वा विभिन्न कारणले बिरुवा अवस्थामा चोट लागेर हुनसक्छ, सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वसन्त थापाले भन्नुभयो, “सालमा ‘क्याङ्कर’ बढी लाग्ने गर्छ।
उहाँका अनुसार बस्ती नजिकका सालको वन क्याङ्करका कारण समस्याग्रस्त बन्दै गएको छ। यस्ता विषयमा वन उपभोक्ता अनभिज्ञ हुन्छन्। आफ्ना सामान्य कमी–कमजोरीका कारण वनको अवस्था खस्कँदै गएको छ र समग्र व्यवस्थापनमा नै समस्या उत्पन्न गराएको छ। जसका कारण काठ उत्पादनमा ह्रास आउने, काठको गुदी (पिथ) कुहिने, पुनः उत्पादन भएका बोटबिरुवाको जिनमा म्युटेसन आउने गर्दछ। कपिलवस्तुका वन क्षेत्रमा सालका वयस्क रुखमा यस्तो समस्या देखिएको डिभिजन वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी मदनमोहन शाण्डिल्यले बताउनुभयो।
समुदायले सञ्चालन गरेका वन क्षेत्रमा बोट पतल्याउने बेलामा त्यस्ता बोट हटाउने गरेको बताइएको छ। क्याङ्कर वनमा समस्याका रूपमा देखिए पनि अध्ययन अनुसन्धान न्यून भएको वन संरक्षणकर्मीको दाबी रहेको छ।