• १२ मंसिर २०८१, बुधबार

चौँतीस प्रतिशत जनसङ्ख्या निष्क्रिय

blog

वालिङ समाचारदाता

वालिङ, चैत १४ गते । स्याङ्जामा १० वर्षमाथिका झन्डै ३४ प्रतिशत नागरिक आर्थिक गतिविधि तथा कामकारबाहीमा निष्क्रिय रहेको पाइएको छ। आर्थिक काममा संलग्न रहन सक्ने जनसङ्ख्याको ३३ दशमलव ४ प्रतिशत नागरिक आर्थिक रूपमा निष्क्रिय अथवा बेरोजगार रहेको २०७८ सालको जनगणनाको तथ्याङ्कमा उल्लेख छ। 

गणना समयअघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४७३ जनाले कुनै पनि आर्थिक आम्दानी हुने काम नगरेको तथ्याङ्कमा जनाइएको छ। आर्थिक काममा संलग्न दुई लाख १६ हजार ७८९ भए पनि २६ हजार ९०८ जनाले तीन महिना कम र तीन महिनाभन्दा बढी काम गर्ने गरेको बताइएको छ। त्यस्तै छ महिनाभन्दा कम २७ हजार ९९४ जनाले आर्थिक आयआर्जनका लागि काम गरेका छन्। छ महिनाभन्दा बढी काम गर्नेको सङ्ख्या ८९ हजार ४१४ छ।

१० वर्ष वा सोभन्दा माथि आर्थिक क्रियाकलाप गर्नेको सङ्ख्या ६३ हजार ८६५ छ। तथ्याङ्कअनुसार काम गर्न सक्ने कुल सङ्ख्याको ६९ दशमलव ९ अर्थात् एक लाख ५० हजार ९९९ रहेको छ। पछिल्लो जनगणनाअनुसार स्याङ्जामा दुई लाख ५३ हजार २४ जनसङ्ख्या रहेको छ। आर्थिक क्रियाकलापमा सक्रिय रहेको भनिएको एक लाख ५० हजार ९९९ जनसङ्ख्यामध्ये एक लाख दुई हजार ७८६ जनाले मात्रै प्रायः सक्रियतापूर्वक काम गर्दै आएका छन्। 

आर्थिक क्रियाकलापअन्तर्गत पेसागत रूपमा सबैभन्दा धेरै कृषिजन्य उत्पादनमा ६४ दशमलव ७ प्रतिशत, प्रथमिक पेसा कामदारमा १४ दशमलव ६, सेवा तथा वस्तुमा बिक्रीमा ४.३, व्यवस्थापनामा ४.१ र अन्य पेसामा ४ प्रतिशत रहेको पाइएको छ।